प्रधानमन्त्रीलाई उदयशमशेरको प्रश्न : चीन भ्रमणका एजेन्डा के छन्?

हिमाल प्रेस १२ भदौ २०८० ११:४३ | Tuesday, August 29, 2023
प्रधानमन्त्रीलाई उदयशमशेरको प्रश्न : चीन भ्रमणका एजेन्डा के छन्?

काठमाडौँ- कांग्रेस सांसद उदयशमशेर राणाले प्रधानमन्त्री प्रचण्डलाई तीनवटा प्रश्न गरेका छन्। उपत्यकाभित्र बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न चक्रपथबाहिर नगर र गाउँ जोड्न सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकासमा समस्या परेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरेका हुन्। राणाले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा भने, ‘उपत्यकाको ३५ प्रतिशत भूगोल ओगट्ने ललितपुर १ जोड्ने तीन सडकलाई मुआब्जा र विस्तार लागि किन बजेट विनियोजन गरिएन?’

साथै उनले यी वैकल्पिक सडक र नयाँ बस्ती विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकारको योजना के छ? भनेर प्रश्न गरे। यस्तै उनले यति बेला आर्थिक इन्डिकेटर सकारात्मक, भुक्तानी सन्तुलन पनि राम्रै रहे पनि वैदेशिक लगानी सहयोग बढ्न नसकेको बताए।

सांसद राणाले आन्तरिक लगानी बढाउन सरकारको प्राथमिकता नभएको भन्दै बैंकमा पैसा थुप्रिएको तर साना मझौला उद्योग सञ्चालकले  पैसा नपाएको गुनासो गरिरहेको भन्दै आर्थिक व्यवस्थालाई सन्तुलनमा ल्याउन सरकारको योजनाबारे प्रश्न गरे।

राणाले प्रधानमन्त्रीको चीन भ्रमणको प्राथमिकता केके हुन्? भनेर पनि प्रश्न गरेका छन्। जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकामा पूर्वाधार विकासमा बजेट विनियोजन गरेको तथा ललितपुर निर्वाचन क्षेत्र १ जोड्ने सडकका सरकारले ध्यान दिने बताए। उनले सरकारले चालेका कदमबाट अर्थतन्त्र बिस्तारै सहज अवस्थामा गएको राष्ट्र बैंकको सूचकांकले देखाएको बताए।

‘२०८० असार मसान्तसम्म २८० अर्ब ५२ करोड बचतमा छ। विदेशी सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको छ। यसले १० महिना धान्न सक्नेछ’, प्रधानमन्त्रीको जवाफ छ।

वैदेशिक रेमिट्यान्समा वृद्धि भएको भन्दै वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको भन्दै उनले उत्पादनमूलक कार्यमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्रीको भनाइ छ। निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने प्रधानमन्त्रीले बताए। उनले, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको पनि जानकारी दिए।

प्रकाशित: १२ भदौ २०८० ११:४३ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast