एमाले कन्चनपुर कार्यालयमा तालाबन्दी

हिमाल प्रेस ३१ साउन २०८० ७:४६ | Wednesday, August 16, 2023
एमाले कन्चनपुर कार्यालयमा तालाबन्दी

काठमाडौँ- नेकपा एमाले जिल्ला पार्टी कार्यालय महेन्द्रनगर कञ्चनपुरमा तालाबन्दी गरिएको छ।

गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा– १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि कुटपिट प्रकरणको विषयलाई लिएर पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो।

भीमदत्त नगरपालिका– १८ क्षेत्रका घाइते देवकोटा पक्षधर स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका छन्। भीनपा– १८ का एमाले स्थानीय कार्यकर्ता दीनानाथ पाण्डेले वडाध्यक्षमाथि मरणासन्न हुने गरी कुटपिट गरेको चार दिन हुँदासम्म पनि कुनै कारबाही नभएको भन्दै बाध्य भएर तालाबन्दी गरेको बताए।

स्थानीय एमाले कार्यकर्ता चन्द्रा खड्काले ४० वर्षदेखि देवकोटा परिवारले निर्माण गरेको पार्टीमा बाह्य पार्टीबाट एमाले घुसपैठ भएका व्यक्तिले कुटपिट गरेको बताइन्। पार्टीले कुटपिट गर्नेमाथि कारबाही नगरेको भन्दै बाध्य भएर पार्टी कार्यालयमा तालाबन्दी गरेको उनको भनाइ छ।

स्थानीय खेमराज रेग्मीले कुटपिट गर्नेमाथि कारबाहीको माग अघि सारेर आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताए। एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले घटनामा संलग्नमाथि जिल्ला पार्टी तहबाट कारबाही गरिने र केन्द्र पार्टीले समेत छानबिन समिति गठन गरेको बताए।

युवा संघको जिल्ला अधिवेशनपछि एमाले कञ्चनपुर पार्टी कार्यालयमा दैनिक तनावग्रस्त भइरहेको छ।

 

प्रकाशित: ३१ साउन २०८० ७:४६ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast