ओटीसी बजारमा दुई करोड कित्ताभन्दा बढी सेयर किनबेच

हिमाल प्रेस ९ साउन २०८० १६:०८
10
SHARES
ओटीसी बजारमा दुई करोड कित्ताभन्दा बढी सेयर किनबेच

काठमाडाैँ- गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटीसी) बजारमा विभिन्न ८४ कम्पनीका दुई करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको गत आर्थिक वर्षमा ओटीसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटीसी बजारमा कारोबारका लागि दर्ता भएका कम्पनीको संख्या दुई सय ६ वटा छ।

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर दुई अर्ब ८५ करोड ८४ लाख १९ हजार आठ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको हो। ओटीसी बजारमा भएको कारोबारबाट गत वर्ष पाँच करोड २९ लाख ५५ हजार ९ सय ८० रुपैयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले उल्लेख गरेकाे छ।

ओटीसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता एक हजार एक सय २५ रुपैयाँमा दुई हजार दुई सय २२ कित्ता सेयर खरिदबिक्री भएको छ। ओटीसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँका दरले किनबेच भएको देखिन्छ।

नेपाल स्टक एक्सचेञ्जले ओटीसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो। नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको कारोबार तथा नामसारी नेप्सेले ओटीसी बजारमार्फत गर्दै आएको छ।

प्रकाशित: ९ साउन २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =