संघीय राजधानी काठमाडौँमै आपराधिक गतिविधि बढ्दो

बैंकिङ कसुरसम्बन्धी धेरै

हिमाल प्रेस ९ साउन २०८० १५:३९
14
SHARES
संघीय राजधानी काठमाडौँमै आपराधिक गतिविधि बढ्दो

काठमाडौँ- मुलुकको संघीय राजधानी काठमाडौँमै आपराधिक गतिविधि बढ्दो रहेको पाइएको छ। पछिल्लो तीन वर्षको तथ्यांकअनुसार काठमाडौँमा प्रत्येक वर्ष अपराधको संख्या बढ्दै गएको पाइएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराध संख्या बढ्दै गएको छ। काठमाडौँमा आर्थिक वर्ष २०७७/७८ मा पाँच हजार ६ सय ६२ अपराधका घटना भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा आठ हजार ९ सय ७७ आपराधिक घटना भएका प्रहरीको तथ्यांक छ। त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४ सय ६४ आपराधिक मुद्दा दर्ता भएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँभित्र बैंकिङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए। ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको देखिन्छ,’ उनले भने।

आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैंकिङ कसुरका मात्र सात हजार १०१ मुद्दा रहेका छन्। त्यस्तै अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी ६ सय ४७, ठगीका ४ सय १४, लागुऔषधका ३ सय ६८, र आत्माहत्यासम्बन्धी ३ सय ५७ मुद्दा दर्ता भएका प्रहरीको विवरण छ।

त्यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा ३ सय २६, सवारी ज्यान तथा अंगभंगसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए। काठमाडौँभित्र ५६ प्रहरी एकाईमा उजुरी तथा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था छ। रासस

प्रकाशित: ९ साउन २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =