कान्तिपुरविरुद्धको आन्दोलन थप सशक्त बनाउने चेतावनी

हिमाल प्रेस ८ साउन २०८० २१:०१
1.3k
SHARES
कान्तिपुरविरुद्धको आन्दोलन थप सशक्त बनाउने चेतावनी तस्बिर : जन्मदेव जैशीकाे फेसबुकबाट।

काठमाडौँ- कान्तिपुर पब्लिकेसन्स वितरण विभागका कर्मचारीहरूले जारी राखेको आन्दोलन थप सशक्त बनाउने भएका छन्। आन्दोलनरत कर्मचारी र श्रमजीवी पत्रकार संघ, नेपालबीच आइतबार भएको छलफलमा आन्दोलन थप कडा बनाउने सहमति भएको हो।

बिनासूचना र पाउनु पर्ने सेवा सुविधा उपलब्ध नगराई पत्रकार र कर्मचारीहरूलाई छानीछानी निकाल्ने कान्तिपुर व्यवस्थापनको स‌ंदिग्ध गतिविधिले गर्दा एउटा बलियो दलकै स‌ंज्ञा पाएको प्रभावशाली मिडियाको पारदर्शिता र जवाफदेहितामा प्रश्न उठेको छ।

कान्तिपुरको व्यवस्थापनले करार अवधि अन्त्य गरेको, अन्त्य गर्दा सेवा सुविधा नदिएको र समयमै तलब सुविधा उपलब्ध नगराएको विरोधमा कर्मचारीहरू आन्दोलित छन्। उनीहरूले  ग्राहकको घरमा पत्रिका पुर्‍याएका छैनन्। कान्तिपुर र द काठमाडौँ पोस्ट पत्रिका काठमाडौँका विभिन्न स्थानबाट उठाएर केन्द्रीय कार्यालय थापाथलीको प्रांगणमा ल्याएर थुपारिएको छ।

आन्दोलन विराटनगर, चितवन र पोखरामा पनि गर्ने सहमति भएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए। ‘अब पत्रिका वितरणमा अवरोध गर्ने होइन, कडाभन्दा कडा आन्दोलन हुन्छ,’ उनले भने, ‘आन्दोलनका नयाँ कार्यक्रमबारे काठमाडौँबाहिर वितरण विभागमा कार्यरत कर्मचारीसँग जुम मिटिङ गरिएको छ।’

कर्मचारीले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए। तीन महिनादेखि तलब नियमित नपाएको, जेठ महिनाको तलब असार मसान्तमा मात्रै दिइएको, केहीले अझै पनि जेठको तलब नपाएको कर्मचारीको गुनासो छ।

तस्बिर : जन्मदेव जैशीकाे फेसबुकबाट।

कान्तिपुर व्यवस्थापनले ४० कर्मचारीलाई करार सेवा अन्त्य गरिएको पत्र थमाइदिएपछि आन्दोलन थप चर्किएको हाे। जागिरबाट हटाइएको विरोधमा वितरण विभागका कर्मचारीले शनिबार पत्रिकाभित्र एक अपिल राख्दै पर्चा पनि बाँडेका थिए। आन्दोलनकारीले शनिबार बिहान मन्डिखाटारस्थित अध्यक्ष कैलाश सिरोहियाको घर घेराउ र एक घन्टा धर्ना गरेका थिए। साथै सिरोहियाको घरमा उपस्थितलाई ऐना उपहार दिएकाे समितिले जनाएको छ।

घर घेराउ कार्यक्रममा नै उनीहरूले सोमबारदेखि पत्रिका वितरण नगरी कार्यालयमा लगेर थन्क्याउने र प्रेसमा काम गर्न नदिने बताएका थिए। त्यही अनुरुप सोमबार पाठकको घरसम्म पत्रिका पुगेन। कान्तिपुरले आफूहरूलाई निकाले पनि दिनुपर्ने सेवासुविधा उपलब्ध गराएर निकाल्न र यसअघि भएका अदालतका फैसलाको पालना गर्न आग्रह आन्दोलनमा उत्रेका श्रमजीवीहरूले गरेका छन्। ‘यही हाम्रो परिश्रमबाट अध्यक्ष र आफन्तहरूले मोजमस्ती गर्ने अन्य व्यवसाय चलाउने अनि हामीलाई  जागिरबाट धपाउँदा कुनै सुविधा दिनु नपर्ने?’ उनीहरूको माग छ।

कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको अवस्था दिनानुदिन नाजुक बन्दै जानु दुर्भाग्य भएको’ भन्दै दबाबमा सहयोगको अपिल गरेका थिए। सबै कामदार उत्रेर कान्तिपुरका अध्यक्ष र नातागोतासँग रहेको सम्पत्ति खोजी गर्ने र सम्पत्ति शुद्धीकरण कार्यालय पुग्ने सम्मको तयारी रहेको एक पत्रकारले जानकारी दिए। पहिले पनि सम्पत्ति शुद्धीकरणको कुरा उठेपछि तत्कालीन एक सहसचिव (हाल सचिव)ले सूचना दिएर राजनीतिक बलमा व्यवस्थापन गरेका थिए, अब त्यो हुन नदिने भन्दै श्रमजीवीहरू लागि परेका छन्।

कर्मचारीले पत्रिका वितरणमा अवरोध गरेपछि पब्लिकेसन्सले सूचना पाउने नागरिकको अधिकार खण्डित भएको दाबी गरेको छ। पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले विज्ञप्तिमार्फत वितरणमा गरिएको अवरोधको प्रतिरोधमा कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आफ्नो कर्तव्य पूरा गर्न खोज्ने श्रमिक तथा व्यवस्थापनका अधिकारीहरूमाथि गाली बेइज्जती गर्ने, हुलहुज्जत गर्ने र धम्क्याउने प्रवृत्तिविरुद्ध कान्तिपुर पब्लिकेसन्स कठोर कानुनी कदमको प्रक्रियामा छ।’

  

 

प्रकाशित: ८ साउन २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =