‘इगो’को लडाइँले कास्कीका फुटबल खेलाडीको भविष्य अन्योलमा

हिमाल प्रेस ७ साउन २०८० १९:३०
4
SHARES
‘इगो’को लडाइँले कास्कीका फुटबल खेलाडीको भविष्य अन्योलमा

पोखरा- अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले गण्डकी प्रदेशस्तरीय यू-१६ फुटबल छनोट प्रतियोगिता बहिस्कार गरेको छ। आफूहरूसँग समन्वय नभएको भन्दै एन्फा कास्कीले प्रतियोगिता बहिष्कार गरेको हो।

भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपालको समेत सहभागिता हुने भएपछि सोका लागि आज (आइतबार)देखि पोखरा रंगशालामा प्रदेशस्तरीय खेलाडी छनोट सुरु भएको थियो।

एन्फा गण्डकीको आयोजनामा दुई दिनसम्म हुने छनोट प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले शुभारम्भ गरेका थिए। प्रदेशमा छनोट खेलाडी आगामी १६ देखि २० साउनसम्म काठमाडौँमा हुने छनोटमा भाग लिन पाउनेछन्। तर प्रदेश राजधानी पोखरामै एन्फा गण्डकी र एन्फा कास्कीका पदाधिकारीबीच व्यक्तिगत ‘इगो’ का कारण कास्कीका प्रतिभावान् खेलाडीको भविष्यमाथिनै कुठाराघात भएको छ।

आफूहरूसँग समन्वय नभएकाले खेलाडी नपठाएको एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितको भनाइ छ। तर उता एन्फा गण्डकी महासचिव विनोद गुरुङकै नाममा प्रदेशका ११ वटै जिल्लालाई पत्र पठाइएको प्रदेशको दाबी छ।

एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले व्यक्तिगत कुण्ठाका कारण खेलाडीहरूको भविष्यमाथि खेलबाड नगर्न अध्यक्ष रञ्जितलाई सचेत गराएका थिए। पछिल्लो विवादले एन्फाभित्रको किचलो उदांगिएको छ।

एन्फा कास्की अध्यक्ष रञ्जितले यति ठूलो कार्यक्रममा कास्की संघसँग समन्वय नगरेका कारण आफूहरूले सहभागिता नजनाएको बताए। कास्कीले भने छुट्टै छनौट प्रतियोगिता गरी २२ जना खेलाडी सोझै केन्द्रीयस्तरको छनोटमा पठाउने निर्णय आफूहरूले गरेको उनको भनाइ छ। तर यसप्रकारको छनोटले भने केन्द्रमा भाग लिन पाउने वा नपाउने भन्ने यकिन छैन।

यस विषयमा प्रदेश खेलकुद परिषद् गण्डकीले चासो व्यक्त गरेको छ। सदस्यसचिव श्रीधर शर्माले युवा खेलाडीहरूको भविष्यमाथि कसैले व्यक्तिगत ‘इगो’को कुरा उठाएर खेलबाड गर्न नपाइने बताए। उनले यसबारे जिल्ला खेलकुद विकास समितिमार्फत स्पष्टीकरण लिइने जानकारी दिए।

विगतमा एन्फा कास्की नेतृत्वमा उज्ज्वलसँग हारेका विनोद गुरुङ अहिले प्रदेश महासचिव छन्। यसरी जिल्ला र प्रदेशबीच ‘इगो’ देखिनु ग्रासरुट फुटबलका लागि राम्रो होइन।

यसैबीच छनोट प्रतियोगितामा कास्कीबाहेक गोरखा, बागलुङ, नवलपुर, पर्वत, मनाङ, तनहुँ, स्याङजा, म्याग्दी र लमजुङका गरी करिब २ सयभन्दा बढी खेलाडीहरूले भाग लिएको एन्फा गण्डकी वरिष्ठ उपाध्यक्ष एवं छनोट संयोजक मिलन गुरुङले बताए।

नेपाली राष्ट्रिय टिमका असिस्टेन्ट प्रशिक्षक किरण श्रेष्ठको अगुवाइमा भएको सो प्रतियोगिता प्रशिक्षकहरू प्रल्हाद हिराचन, वेदबहादुर थापा, सुविन श्रेष्ठ, दिलीप थापा र ओम गुरुङ समेतको निरीक्षणमा हुनेछ।

प्रकाशित: ७ साउन २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =