रैथाने बाली अनुसन्धानमा सीमित कोशी

विवेक विवश रेग्मी ७ साउन २०८० २०:२४ | Sunday, July 23, 2023
रैथाने बाली अनुसन्धानमा सीमित कोशी इलामको माइजोगमाई गाउँपालिकाकी एक किसान आफ्नो बारीमा लाएको अदुवा झिक्दै। अदुवाले भाउ पाएपछि किसान खुसी छन्। तस्बिर : हिमालप्रेस

इटहरी-  कोशी प्रदेशको भूगोल हिमालदेखि तराईमधेशसम्म फैलिएको छ। सर्वोच्च शिखर सगरमाथा र नेपालको होचो भाग केचना यही भूभागमा पर्छ। हिमाल, पहाड र तराईमा फैलिएको प्रदेशमा जातीय एवम् भाषिक रूपमा मात्रै विविधता छैन, खाद्यान्न बालीमा पनि अनेकता छ।

सुनसरी, मोरङ र झापामा धानखेती हुन्छ। चियाको राजधानी भनेर चिनिने इलाममा अकबरे, अलैँची, अदुवा पनि त्यत्तिकै उत्पादन हुन्छ। यहाँका बढीजसो किसान चियाखेतीमा आश्रित छन्। पाँचथर र ताप्लेजुङमा अलैँची धेरै उत्पादन हुन्छ।

धनकुटा, तेह्रथुम, संखुवासभामा विभिन्न प्रजातिका तरकारीका साथै बेसार, आलु, मकैजस्ता अन्नबाली उत्पादन हुन्छन्। भोजपुर सुन्तला, आलु, अकबरेका लागि प्रसिद्ध छ।

उदयपुरमा धान, मकै, गहुँ उत्पादन हुन्छ भने खोटाङमा उत्पादित मकै, कोदोजस्ता अन्नबालीले किसानले जीवन निर्वाह गर्दै आएका छन्।

ओखलढुंगा र सोलुखुम्बुमा बढीजसो कोदो, आलुजस्ता अन्नबाली उत्पादन हुँदै आएका छन्। यीबाहेक हरेक जिल्लामा हावापानीअनुसारका तरकारी र अन्य नगदे बाली पनि उत्पादन हुँदै आएका छन्।

प्रदेशको भूगोल र हावापानीअनुसार अनेक खालका खाद्यान्न उत्पादन हुँदै आए पनि रैथाने बालीको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन। कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख केशवप्रसाद श्रेष्ठ रैथाने बाली संरक्षणमा सरकार गम्भीर रहेको बताउँछन्। उनी भन्छन्, ‘रैथाने बालीको बिउ संकलन गरी अनुसन्धान गरिएको छ। अन्नबाली मात्रै होइन, तरकारी, फलफूलसँगै पशुका लागि पनि रैथाने बालीको संरक्षण र सम्वर्द्धन गरिरहेका छौँ।’ तर उनले बाली रैथाने बाली संरक्षणका लागि कुने योजना प्रस्तुत गर्न सकेका छैनन्।

कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोखरेल प्रदेशमा अन्य बालीलाई पनि प्रोत्साहन गर्नुपर्नु पक्षमा छन्। उनका अनुसार किसानले उत्पादन गरेको धान, गहुँ, मकैलगायतका अन्न कोशी प्रदेशका लागि पर्याप्त छ। उनले भने, ‘अन्य रैथाने बालीको उत्पादन वृद्धिमा लाग्नुपरेको छ।’

कोशी प्रदेशमा उत्पादित धानचामल अन्य प्रदेशमा निर्यात हुन्छ। यस्तै अलैँची र चियाको बजार पनि विदेश हो। तर रैथाने बाली उत्पादन र बजारीकरणमा भने प्रदेशले ध्यान दिन सकेको छैन।

कृषिविज्ञान अध्ययन गरिरहेकी सुनीता भट्टराई प्रदेशमा उत्पादन हुँदै आएका विभिन्न बालीको संरक्षण आवश्यक रहेको बताउँछिन्। प्रदेशमा नगदे र खाद्यबालीलाई प्रोत्साहन गर्न सकेमा थप उत्पादन हुने र आर्थिक समृद्विसँग जोड्न सकिने उनी बताउँछिन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार अहिले धान रोपाईँको सिजन भएकाले प्रदेशका १४ वटै जिल्लामा रोपाईँ भएको छ। प्रदेशमा कूल आठ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये तीन लाख ४० हजार ३२९ हेक्टरमा धान लगाउन सकिन्छ। उनका अनुसार हालसम्म एक लाख ९० हजार ५२६.९५ हेक्टर जमिनमा रोपाइँ गरिएको छ। यो ५५.९० प्रतिशत हो।

पछिल्लो समय धानको बिउलाई पनि परिस्कृत बनाएर रोपाइँ गरिएको श्रेष्ठ बताउँछन्। ‘बासमती र कालानमक जस्ता धानलाई थप परिस्कृत गर्दै, अनुसन्धानबाट रोग फालेर नयाँ जातको विकास गर्न मद्दत गरिएको छ’, श्रेष्ठले भने, ‘अन्नबाली मात्रै नभईकन भ्याएसम्म हामीले विभिन्न प्रजातिको संरक्षणमा जुटिरहेका छौँ।’

उनले अन्नबालीसँगै, आँप, लिची, सुन्तलाजस्ता फलफूललाई पनि अपग्रेड गर्दै रोगरहित बिरुवा बनाएर उत्पादनलाई जोड दिएको बताए। उनले भने, ‘रैथाने बालीको संरक्षण हुँदा उत्पादनमा पनि वृद्धि हुन्छ।’

रैथाने जातमा रोगव्याधि  लाग्ने र उत्पादन कम हुने भएकाले उत्पादनलाई बढाउनका निम्ति रैथाने बालीमा थप अनुसन्धान गर्ने गरिएको उनले बताए।

प्रकाशित: ७ साउन २०८० २०:२४ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast