लम्पी स्किनबाट काभ्रेमा ६ सय ८१ पशु मरे

हिमाल प्रेस ७ साउन २०८० १२:५०
4
SHARES
लम्पी स्किनबाट काभ्रेमा ६ सय ८१ पशु मरे फाइल तस्बिर। हिमाल प्रेस

काभ्रे– लम्पी स्किनका कारण काभ्रेमा ३० हजार ७ सय ४३ पशु संक्रमित बनेका छन्। यो रोगबाट काभ्रेमा ६ सय ८१ पशुचौपाया मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

पछिल्लो महिना काभ्रेमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६ सय ८१ पशुको मृत्यु भएको छ।

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैंसीसमेत मरेका हुन्। केन्द्रका अनुसार जिल्लामा ३० हजार ७ सय ४३ वटा पशु संक्रमित बनेकामध्ये ३० हजार ४ सय ६४ गाई, २ सय ७९ भैंसी रहेका छन्।

केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीले प्रभावित पशुचौपायाको संख्या पनि उत्तिकै रहेको बताए। उनका अनुसार ३३ हजार गाई र ३ सय ९९ भैंसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ। खोप लगाइएका पशुमा रोग देखिएको छैन। जिल्लामा ३ लाख गाईभैंसी रहेका छन्।

बनेपा नगरपालिकामा सबैभन्दा धेरै संक्रमणदर रहेको छ। बनेपाको ६ वटा वडामा १ सय १८ पशु मरिसकेको तथ्यांकले देखाएको छ। बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ।

बनेपामा ६ हजार १५ वटा पशु संक्रमण भएकामध्ये ५ हजार गाईमा खोप लगाएको छ। यहाँ प्रभावित पशु संख्या छ हजार २ सय छन्। वडा १ देखि ५ सम्म र १० वडामा संक्रमण फैलिएको जनाइएको छ।

केन्द्रका अनुसार पाँचखाल नगरमा १ सय पशु मरिसकेका छन्। धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५ वटा पशु मरेका छन्।

यस्तै चौंरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९, खानीखोलामा ७९, बेथान चोकमा २५, रोशीमा ३१, भुम्लुमा २० पशु मरेका छन्।

चौंरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ।

जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ। उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै संकटमा परेको कृषक बताउँछन्। सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार-पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि ३ तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताए।

उक्त रोग लागेपछि गाईभैंसीले कचेरा निकाल्ने, सिंगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना-ठूला गिर्खा तथा फोका देखिन्छ। रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन। लम्पी स्किन संक्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो।

सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बंगलादेश हुँदै ०७७ साल असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो। काभे्रमा भने सोही सालको साउनमा पनौतीको १ भैंसीमा देखिएको थियो।

प्रकाशित: ७ साउन २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =