कोशी प्रदेशमा सडक दुर्घटनामा कमी

हिमाल प्रेस ४ साउन २०८० ८:५०
14
SHARES
कोशी प्रदेशमा सडक दुर्घटनामा कमी बिर्तामोडस्थित मुक्ति चोकमा सवारी साधन।

इटहरी– कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ। सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव ०७९/८० मा ३ हजार ५ सय १० सवारीसाधन दुर्घटना हुँदा ४ सय १२ जनाको मृत्यु भएको थियो।

सो दुर्घटनामा परी ८ सय १० जना गम्भीर तथा ४ हजार ७ सय ९७ जना सामान्य घाइते भएका थिए।

आव ०७८/७९ मा प्रदेशमा ३ हजार ८ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए। दुर्घटनाबाट ५ सय ३१ जनाको मृत्यु, १ हजार दुई सय ३ जना गम्भीर घाइते र ५ हजार ४ सय ४५ जना सामान्य घाइते भएका दाहालले बताए।

ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उनको भनाइ छ।

आव ०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना ८ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्यांक छ।

आव ०७९/८० मा उक्त अवधिमा ८ हजार ३ सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार छ सय ६४ जनालाई सवारी शिक्षा र ३ लाख १ हजार ८ सय ७१ जनालाई सवारी नियम उल्लंघन गरेकामा जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

आव ०७८/७९ मा ५ हजार १ सय ५ जनालाई मापसे कारबाही, १९ हजार ८ सय ३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार ८ सय २३ जनलाई सवारी नियम उल्लंघन गरेकामा जरिवाना गरिएको थियो।

सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्दा राजस्व संकलनमा समेत वृद्धि भएको छ। आव ०७९/८० मा २० करोड ७ लाख ३५ हजार राजस्व संकलन भएको छ भने आव ०७८/७९ मा १८ करोड १ लाख ५९ हजार राजस्व संकलन भएको थियो।

प्रकाशित: ४ साउन २०८० ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =