सहरी विकास मन्त्रालयका कारण बञ्चरेडाँडामा फोहोर विसर्जनको समस्या भएको आरोप

हिमाल प्रेस ३ साउन २०८० १५:१०
64
SHARES
सहरी विकास मन्त्रालयका कारण बञ्चरेडाँडामा फोहोर विसर्जनको समस्या भएको आरोप फाइल तस्बिर : केही दिनअघि स्थानीयकाे अवराेधपछि बञ्‍चरेडाँडामा लामबद्ध फाेहाेरका गाडी।

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल नुवाकोट र धादिङको बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’को समस्या सहरी विकास मन्त्रालयकै कारण लम्बिएको स्थानीय तहले आरोप लगाएका छन्।

प्रधानमन्त्री कार्यालयले फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गर्न पटकपटक निर्देशन दिए पनि सहरी विकास मन्त्रालयले अटेर गर्दै आएको स्थानीय तहहरूको आरोप छ। मन्त्रालयले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न चासो नदेखाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए।

बुधबार सहरी विकास मन्त्रालयले छलफलका लागि स्थानीय प्रतिनिधिलाई बोलाएको थियो। तर प्रधानमन्त्री कार्यालयले जेठ १ गते नै दिएको निर्देशन मन्त्रालयले अटेर गरेको भन्दै छलफलमा स्थानीय तहका प्रतिनिधि उपस्थित भएनन्।

मन्त्रालयले आवश्यक पहल नगरेका कारण स्थानीय तहले बञ्चरे डाँडामा फोहोर फाल्न अवरोध गरेका थिए। साथै आन्दोलन चर्काएका थिए। मन्त्रालयले प्रधानमन्त्री कार्यालयको निर्देशन नटेरेको भन्दै छलफल औचित्यहीन भएकाले छलफलमा नगएको अध्यक्ष तामाङको भनाइ थियो। परिपत्र नगरी अनौपचारिकता पूरा गर्न बोलाइएको बैठकमा सहभागी हनु आफू नगएको अध्यक्ष तामाङको भनाइ थियो।

वडाध्यक्ष र स्थानीयहरूसँग अनौपचारिक छलफलमा समस्या समाधानको प्रतिबद्धता गरेर सहरी विकास मन्त्री निस्केका ककनी गाउँपालिका–१ का अध्यक्ष पदमबहादुर बलामीले बताए। नुवाकोटको ककनी र धादिङको धुनिवेशी गाउँपालिकाका स्थानीयले साउन १ गतेदेखि सो क्षेत्रमा उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका छन्। ककनी–३ का वडाध्यक्ष घननाथ बजगाइँले फोहोरको पहाड बनेको सिसडोलको व्यवस्थापन नहुँदा झिँगा फैलिएको बताए।

बञ्चरेडाँडाबाट तीन किलोमिटर टाढासम्म फोहोरको गन्धले मानव बस्न नसक्ने अवस्था रहेकाले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। बञ्चरेडाँडाको फोहोरमैला व्यवस्थापन गर्ने सम्बन्धमा वैशाख २९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा बैठक बसी सहरी विकास मन्त्रालयलाई ४ बुँदे निर्देशन दिइएको थियो। जेठ १ गते प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय र सहरी विकास मन्त्रालयलाई पत्र लेखेर आवश्यक पहल गर्न भनेको थियो।

प्रकाशित: ३ साउन २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =