प्रचण्डकै ‘कब्जा’ मा समाजवादी मोर्चा

किरण पौडेल ४ साउन २०८० ७:४४
46
SHARES
प्रचण्डकै ‘कब्जा’ मा समाजवादी मोर्चा

काठमाडौँ– संघीय संसद्को २७५ सिटमध्ये ३२ सिट भएको नेकपा (माओवादी केन्द्र) सरकारको नेतृत्वमा छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैभन्दा बढी सिट भएको कांग्रेसको समर्थनमा सत्तामा छन्। दोस्रो ठूलो दल एमाले प्रमुख प्रतिपक्षी छ।

पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेको हात समातेका प्रचण्डलाई एमालेले छाडिसकेको छ। कांग्रेसले भने त्यति बेलादेखि नै प्रचण्डलाई साथ दिँदै आएको छ। प्रचण्डको पछाडि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतका दल छन्। यसैले गठबन्धन सरकारमा प्रचण्ड बलिया मानिन्छन्।

सरकारमै रहेका बेला प्रचण्डले गठबन्धनभन्दा भिन्न अर्को मोर्चा गठन गरेका छन्, त्यो हो समाजवादी मोर्चा नेपाल। प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पन्छाएर ‘सहायक’ मोर्चा बनाएका हुन्।

मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) छन्। ती दल संसद्‌मा भए पनि विप्लवको संघ र प्रदेश दुवैमा विप्लवको प्रतिनिधित्व छैन। मोर्चामा आबद्ध हुनु चारै दलको बाध्यता रहेको राजनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ।

कुनै बेला मधेशमा एकछत्र गरेका र आफूलाई मधेश आन्दोलनको हिमायती ठान्ने उपेन्द्र यादव कमजोर बनेका छन्। केपी शर्मा ओलीको विरोध गर्दै अलग्गिन पुगेका माधव नेपाल-झलनाथ खनालको दल राष्ट्रिय पार्टी बन्न पाएनन्। संसदीय राजनीतिको चर्को विरोध गर्ने विप्लव नेतृत्वको नेकपा निर्वाचनको परीक्षामा थियो। तर नतिजा फलदायी आएन।

यसरी कमजोर घटकलाई मोर्चामा आबद्ध गराएर प्रचण्ड विचार मिल्ने समूह आफ्नो नियन्त्रणमा राख्न प्रयत्नशील भएका हुन्। प्रचण्ड समसामयिक राजनीतिमा चुतर खेलाडी मानिन्छन्। प्रतिनिधिसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको पार्टीलाई सरकारको नेतृत्वमा पुर्‍याउनु र झन्डै शतप्रतिशत विश्वासको मत पाउनुले उनको राजनीतिक चातुर्य पुष्टि हुन्छ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी रहेको नेताहरूले बताउँदै आएका छन्। मोर्चाको मतले प्रचण्ड थप शक्तिशाली बन्न खोजेको टिप्पणी कतिपयको छ। प्रचण्डले कांग्रेसले सत्ता हातमा लिने प्रयत्न गरेको चाल पाएर तेस्रो ध्रुवीकरण बनाउन खोजेको आकलन गर्नेहरू पनि छन्।

नेताहरू भने मोर्चा गठनको प्रमुख उद्देश्य संघीय संसद्‌मा बलियो उपस्थिति देखाउनु रहेको दाबी गर्छन्। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२ सहित एकीकृत समाजवादीको १० र जनता समाजवादीको १२ सिट छ। कुल जोड्दा ५४ सिट हुन्छ। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ८८ र दोस्रो दल एमालेको ७८ सिट छ।

मोर्चामा आबद्ध भएसँगै ३२ सिटको माओवादीको ‘बार्गेनिङ पावर’ थप बढेको विश्लेषक डम्बर खतिवडा बताउँछन्। समाजवादी भने प्रचण्डकै छायामा परेको देखिन्छ। प्रचण्डको बार्गेनिङ पावर बढाएर सत्तायात्रालाई सहज बनाउनु मोर्चा गठनको उद्देश्य रहेको खतिवडाले बताए। प्रचण्ड साना शक्तिहरू आफ्नै नियन्त्रणमा रहून् भन्ने चाहन्छन्।

‘साना शक्तिहरूलाई ठूलाले कब्जा गर्न सक्ने सम्भावना हुन्छ। प्रचण्डको प्रयत्न साना शक्ति अन्यत्र नजाऊन् भन्ने हो,’ खतिवडाले हिमाल प्रेससँग भने। उनको बुझाइमा मोर्चा नैतिक र सैद्धान्तिक रूपमा अघि बढ्नका लागि हुँदै होइन। उनले भने, ‘प्रचण्डको सत्तायात्रालाई सहज बनाउन मात्र मोर्चा गठन गरिएको हो।’

असार २३ गते बसेको समाजवादी मोर्चाको बैठक।

एकीकृत समाजवादी स्थापनाकालदेखि नै माओवादीसँग ‘अविछिन्न यात्रा’ गर्दैछ। केन्द्रले सरकार र प्रदेशमा समेत सत्तामा टिक्न समाजवादीले यस्तो गठजोड गरेको हो। ‘हाम्रो पार्टीमा सत्तामा जानैपर्ने बाध्यतामा आइलाग्यो। पार्टी तलमाथि बन्न पनि सक्छ,’ समाजवादीका नेताले भने, ‘स्वतन्त्र रूपमा अघि बढ्न वा प्रतिपक्षमा बस्न सक्ने अवस्था छैन।’

त्यसो त एमालेबाट अलग भएपछि संकटमा परेका नेपाललाई प्रचण्डले नै साथ दिएका हुन्। दुई प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा ५ मन्त्री दिएर सत्तामा पुर्‍याएकै कारण पनि समाजवादीले प्रचण्डको साथ छाड्न सकेको छैन। ‘मोर्चा बनेपछि साना दलहरू ठूला दलको छत्रछायामा रहनुपर्ने त हुन सक्छ तर आवाज उठाउन त सजिलो हुन्छ नि,’ समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सैद्धान्तिक रूपमा अघि बढ्न र आवाज उठाउन मोर्चा बनाइएको हो। हेरौँ, कतिसम्म जान सकिन्छ।’

बेलाबेलामा अध्यक्ष नेपाल प्रचण्डले आफूहरूलाई अपमान गरेको बताउँछन्। केही समयअघि एक कार्यक्रममा आफ्नो पार्टीलाई प्रचण्डले हेप्न खोजेको बताएका थिए। काठमाडौँबाहिर दिएको त्यो अभिव्यक्ति नेपालले काठमाडौँ फर्किनेबित्तिकै सच्याएका थिए। उनका यस्ता अभिव्यक्ति प्रचण्डलाई घुर्की लगाउनका लागि आउने गरेको बताउनेहरू पनि छन्।

समाजवादी नेताहरूका अनुसार प्रचण्डसँग समाजवादीले नचाहँदानचाहँदै सम्बन्ध जोड्नुपरेको छ। ‘हामी अहिले एमालेसँग सहकार्य गर्न सक्ने अवस्था छैनौँ। गठबन्धनमै रहँदा माओवादीसँग नजिक रहनैपर्छ,’ प्रवक्ता खतिवडा भन्छन्।

माओवादीसँगको सम्बन्धबारे समाजवादीभित्रै फरकफरक मत छ। उपाध्यक्ष बेदुराम भुसाल मोर्चा गठनबारे त्यति टिप्पणी आवश्यक नरहेको बताउँछन्। भुसालले माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन सक्ने भएकाले टिप्पणी गर्न औचित्यहीन रहेको बताएका हुन्। ‘माओवादी र एकीकृत समाजवादीबीच निकट भविष्यमै एकता हुन सक्छ,’ भुसाल भन्छन्, ‘हामीबीच नमिल्दो केही हुँदैन। हामी एकताकै प्रयत्नमा छौँ।’ दुई पार्टीबीच एकता प्रयास जारी रहेको उनले बताए।

उता जसपाका अध्यक्ष यादव तत्काल कुनै शक्तिसँग एकता गर्ने पक्षमा देखिँदैनन्। पार्टी स्रोतका अनुसार वामपन्थी शक्तिप्रति जसपा सन्तुष्ट नभए पनि आउँदो निर्वाचनलाई हेरेर मोर्चामा सहभागी भएको हो। ‘हामीले आउँदो निर्वाचनमा कुनै न कुनै पार्टीसँग मोर्चा बनाउनैपर्ने हुन्छ। यसैले जोडिएका हौँ,’ जसपाका एक नेताले भने, ‘हामी मोर्चामा बसेनौँ भने मधेशमा मुख्यमन्त्री जान सक्छ। मधेश जोगाउनु छ।’ विप्लवलाई भने प्रचण्डले माओवादी केन्द्रको महासचिव बनाउन मोर्चामा ल्याएको माओवादी नेताहरूको दाबी छ।

धोका खाँदै अघि बढ्दै

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पाँच दलीय गठबन्धनमा समावेश भएको थियो। गठबन्धनमा रहँदा समाजवादीले २० सिट जित्यो। गठबन्धनका अन्य दल कांग्रेस/माओवादीले उल्लेखनीय सिट जित्दा समाजवादीले सोचेजति परिणाम ल्याउन सकेन।

समाजवादीभित्र तीव्र विवाद भयो। समाजवादीका नेता झलनाथ खनालले त कांग्रेस-माओवादी गठबन्धन छाडेर एमालेसँग मिल्नुपर्ने प्रस्ताव अघि सारे। समाजवादीले गठबन्धन छाड्न सकेन। फलस्वरूप समाजवादीले मंसिर १० को निर्वाचन पनि पाँच दलीय गठबन्धनबाटै लड्नुपर्‍यो।

प्रतिनिधिसभामा १८ सिटमा चुनाव लडेको समाजवादीले १० सिटमा जित्यो। ‘हामीलाई गठबन्धनबाट धोका भयो। कांग्रेस र माओवादीलाई मात्र भोट गयो,’ निर्वाचन समीक्षामा अध्यक्ष नेपालले भनेका थिए। यति हुँदा पनि समाजवादीले गठबन्धन छाड्न सकेन।

पार्टी फुटाएर एकीकृत समाजवादी बनाउँदा दुई प्रदेशको नेतृत्व गरेको पार्टी अहिले कुनै प्रदेशमा नेतृत्वमा छैन। संघीय सरकारमा पनि दुई मन्त्रीमा चित्त बुझाएको छ तर पनि उनी माओवादीको साथ छाड्न सकेको छैन।

सरकारमा रहँदा पनि समाजवादी अन्य सत्तारुढ दलसँग सन्तुष्ट छैन। बजेटका विषयमा समाजवादीले विरोध गर्‍यो। संशोधन नभए पारित हुन नसक्ने अभिव्यक्ति समाजवादीका नेताहरूले दिए। तर बजेट बिना सर्त पारित भयो।

समाजवादीका दोस्रो तहका नेता भने माओवादीसँग गठजोड जारी रहेकोमा सन्तुष्ट छैनन्। अर्काे दलसँग मात्रै अघि बढ्दा आफ्नो राजनीतिक मुद्दा सधैँ ओझेलमा पर्नेमा उनीहरू चिन्तित छन्। ‘हामीले नयाँ तरिकाले सोच्नुपर्ने देखियो। हामी एमालेभन्दा पछि पर्‍यौँ,’ एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री भन्छिन्, ‘खाली अर्को पार्टीको बुई चढेर मात्र हुँदैन।’

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ। मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो। मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँचपाँच जनासम्म र प्रदेशमा तीनतीन तथा जिल्लामा दईदुई जना चारवटै पार्टीबाट समेटिने गरी मोर्चा बनाइनेछ।

यसै गरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको छ। उनले भने, ‘मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ।’ मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =