नियात्रा

सहरिया हावाले दूषित बनाएको प्राचीन गाउँ

राजाराम बर्तौला ३० असार २०८० १५:३९
70
SHARES
सहरिया हावाले दूषित बनाएको प्राचीन गाउँ

गुन्डु उपत्यकाका प्राचीन बस्तीमध्ये एक हो। भक्तपुरपट्टिबाट सूर्यविनायक जाँदा त्यसलाई देब्रे पारेर पश्चिम हुँदै परिक्रमा गरेपछि पहाडको फेदीमा बसेको यस पुरानो गाउँमा पुगिन्छ। गुन्डुलाई सहरिया हावाले छोएको छ। भौतिक सम्पन्नताको झल्को यहाँ देख्न सकिन्छ। तैपनि अझै यो बस्ती गाउँको मूल चरित्रबाट बाहिर आइसकेको छैन।

कृषिकर्म जताततै देख्न सकिन्छ। बिहानै गुन्डु पुग्दा किसान खेत जोत्दै थिए। फरक यत्ति थियो खेत जोत्न गोरुको ठाउँमा हाते ट्रिलरको (ट्याक्टर) प्रयोग भइरहेका थिए।
कृषिमा आधुनिक प्रविधिको प्रवेश भएको एउटा झलक थियो यो। गुन्डु ग्रामीण सभ्यताबाट सहरी सभ्यतामा प्रवेश गर्न कोसिस गरिरहेको एउटा संक्रमणकालीन अवस्थाको बिम्ब थियो।

पाँचथरमा रहेकी देवी पाथीभराको प्रतिरूप यहाँ पनि स्थापना गरिएको छ। देवी दर्शनका लागि श्रद्धालुको भीड लाग्ने रहेछ। हामीले पनि पाथीभरा माताको दर्शन गर्‍यौँ।

प्रत्येक ठाउँको आफ्नै कथा हुने रहेछ। फरक परिवेश फरक कथा। गुन्डुदेखि उकालो लागेपछि थली, डाँडा र भञ्ज्याङमा भेटिन्छन् त्यस्तै कथा। कथाका पानामा ऐतिहासिकताका डोब भेटिन्छन्। भक्तपुरजत्तिकै पुरानो हो गुन्डु। यससँग जोडिएको घ्याम्पे डाँडा तथा रानीकोटको कथा पनि प्राचीन छ।

सप्ताहन्तको पदयात्राका लागि हामीले रोज्यौँ गुन्डु हुँदै रानीकोटसम्म जाने र फर्कने यात्रा। हाम्रो समूह गुन्डुस्थित पाथीभरामाताको दर्शन गर्दै उकालो लाग्यो। हुन त यहाँका डाँडा बस्तीमा सडक नपुेको ठाउँ छैन। तर पनि आफ्नै पैताला खियाउँदै हिँडेर प्राकृतिक सुन्दरताको आनन्द लिनुको स्वाद फरक हुन्छ। गुन्डुबाट उकालो लागेपछि पाइलटबाबाको आश्रम पुगिन्छ। खासमा भन्ने हो भने यो सोमनाथको मन्दिर हो, शिवधाम।

पाइलट बाबाको खास नाम सोमनाथ गिरी रहेछ। यिनी भारतीय नागरिक हुन् र पेसाले विमान चालक। कुन बेला कुन कालखण्ड र परिवेशले मानिसको जीवनमा वैराग्यले प्रवेश गर्छ भन्नै नसकिने। विमान चालकको पेसा चटक्क छोडेर सन्न्यासी बनेका यी बाबा नेपालको पहाडी कन्दरमा बसेर योगध्यानले दीक्षित भएका रहेछन्।

यी हरफ लेखिरहँदा मेरा आँखा हेटौँडा बजारबाट केही किलोमिटर माथि पर्ने त्रिखण्डीमा गए। पहाडको फेदी र राप्तीको किनारमा अवस्थित यो स्थान गृहत्यागी सन्न्यासीका लागि उपयुक्त रहेछ। त्रिभुवन राजपथ बन्दादेखि नै यहाँ शिव मन्दिर रहेको हुँदा धार्मिक स्थल पनि हो।

परापूर्वकालदेखि यहाँ त्रिखण्डी मेला लाग्ने गर्दछ। यही त्रिखण्डीमा साधना गरेर पाइलट बाबाले सिद्धि प्राप्त गरेका रहेछन्। त्यसपछि पहाड, खोलानाला, कन्दरा पैदलै यात्रा गरेर नेपालको अध्ययन गरेका रहेछन्। यस्तै कुरा लेखिएका छन् यहाँ राखिएको ताम्रपत्रमा।

पाइलट बाबाको मन्दिर भनेपछि उनले आफैँले बनाएको कुटी होला भन्ने लागेको थियो। तर यो मन्दिर उनले आफँैले बनाएका होइनन्। बाबाको जीवनदर्शनबाट प्रभावित हुने धेरै छन् नेपालमा।

खासगरी नवधनाढ्य वर्ग र उच्च पदमा रहेकाहरू। बाबाका चेलाले रकम संकलन गरेर उनैका नाममा समर्पण गरेका रहेछन्। यस काममा मुख्य अभियन्ता ‘आँखा बा’ का नामले परिचित डा. रामप्रसाद पोख्रेल र उनकी श्रीमती शोभना पोख्रेल रहेछन्।

यहाँ आउँदा मन्दिरसँगै उत्तरतर्फ लमतन्न परेर लहरै मिलेर बसेका सेता हिमालको पनि दर्शन गर्न पाइन्छ। कतैबाट केहीले पनि नछेक्ने पहाडको डाँडामा अवस्थित यो मन्दिरमा भक्तजन तथा श्रद्धालुका लागि हिँडडुल गर्ने, ध्यान प्रवचन गर्ने पनि राम्रो व्यवस्था छ। प्राकृतिक सौन्दर्यले भरपूर रमणीय स्थानमा पुगेपछि केही समय शिवध्यानमा लगाउने विचार पलाएर आयो।

भगवान् शिवलाई योगगुरु पनि भनिन्छ। त्यसैले हामी सबै पदयात्राका सहभागी लामबद्ध भएर बस्यौँ। पदयात्राका पथप्रदर्शन तथा योग प्रशिक्षक रामदेवी महर्जनले योगसाधनाको प्रारम्भिक अभ्यास गराउनुभयो। योगको विषय थियो,‘आफूलाई चिनौँ’।

योगपछि हामी उकालो लाग्यो घ्याम्पे डाँडातर्फ। यहाँबाट छोटो दूरीमै छ। जहाँबाट उत्तरको हिमाली शृंखलाको राम्रो अवलोकन गर्न सकिन्छ। नगरकोटबाट चाहिँ सूर्योदय पनि हेर्न सकिन्छ। यतिमात्र फरक हो कि यहाँबाट सूर्योदय हेर्न सकिन्न। मनोरम दृश्यावलोकनका अतिरिक्त सप्ताहन्त बिताउन, एकान्तवास, गोप्य मन्त्रणा, व्यावसायिक सभासम्मेलन, मनोरञ्जन या पर्यावरणीय पर्यटन आदिका लागि यो स्थान उपयुक्त छ। घ्याम्पेडाँडामा सुविधासम्पन्न होटल बनेका छन्।

यहाँ जिपलाइन सञ्चालनमा छ। साहसिक मनोरञ्जनका लागि आकर्षक गन्तव्य हो। जिपलाइनको डोरीमा झुन्डिएर युवकयुवती त्यसको आनन्द लिइरहेका थिए। हामी आनन्दित भएर हेर्दै थियौँ।

डाँडामा घ्याम्पोको सुन्दर प्रतिरूप निर्माण गरिएको छ। यसको छेवैमा पुरानो घ्याम्पाको अवशेष देख्न सकिन्छ। उकालो उक्लिँदै गर्दा सहभागी कुनै मित्रले ठट्टा गर्दै भनेका थिए, ‘घ्याम्पै रित्याउने ठाउँ भएर घ्याम्पेडाँडा भनेको हो।’ तर अहिलेका युवा जमातको लागि भने बोतलै रित्याउने ठाउँ भएको प्रतीत हुँदै गएको देखिँदै छ।

घ्याम्पो त एउटा विम्ब न हो। यसभित्रको मानवीय पीडा, सांस्कृतिक अवशेष र धरोहरका रूपमा स्थानीयका नाममा जीवन्त भएको देख्न सकिन्छ। तीनपाने नेपाली संस्कृतिको एउटा अभिन्न पाटो अवश्य हो। तर घ्याम्पेडाँडाको होइन। यो घ्याम्पो मर्चाको रससँगभन्दा पनि जीवन तत्त्वको अभिन्न रस पानीसँग जोडिएको रहेछ।

नृजातीय अध्ययनमा बसाइका हिसाबले सांस्कृतिक कारणले गर्दा नेपालका तामाङ उपत्यकाको फेदीमा भन्दा डाँडामा बस्न रुचाउँछन्। त्यसैगरी उनीहरूको बस्ती विकास भएको देखिन्छ। हुनत अहिले घ्याम्पेडाँडामा तामाङको बस्ती देखिँदैन।यद्यपि यो ठाउँ मूलभूत रूपमा तामाङकै बाहुल्य भएको ठाउँ हो। तामाङकोमा अन्त्येष्टि कर्म गर्नुपर्दा डाँडामा गर्नपर्ने चलन छ।

त्यो कर्म धेरै दिनसम्म चल्ने हुँदा सहभागीका लागि आवश्यक सरसामानको जोहो गर्न कठिन हुन्छ। यहाँ खानेपानीको सर्वथा अभाव भएकाले ठूलठूला घ्याम्पामा पानी भरेर राख्ने चलन रहेछ। यसै परम्पराबाट स्थापित भएर यो ठाउँको नाम ‘घ्याम्पेडाँडा’ रहन गएको रहेछ।

घ्याम्पेडाँडालाई पछाडि छोडेर हामी शिखरतर्फको यात्रामा लाग्यो। पहाडको शिर जहाँ रानीकोट छ। हाम्रो यात्राको उच्चतम बिन्दु २१०० मिटर अग्लो स्थानमा निर्मित सामरिक महत्त्वको फोर्ट रानीकोट थियो। त्यहाँ पुग्नुअगाडि हामी लाग्यौँ बाघभैरव।

रानीकोटभन्दा केही तल पूर्वी पाखोमा छ, बाघभैरव। एउटा ठूलो बाघ आकृतिको चट्टा छ। यसैलाई स्थानीयले ‘बाघभैरव’ को स्वरूप मानी पूजा गर्ने गरेका छन्। वर्षको एकपटक ठूलै मेला लाग्छ। केही निर्माणकार्य भइरहेको देखिन्छ।

मन्दिर परिसरमा खानेपानीको अभाव देखिन्छ। यद्यपि भोजभतेरका लागि पाटीको निर्माण पनि गरिएको छ। सरसफाइ अभावमा हामीले पाटीमा बसेर सहभोज गर्न सकेनौँ। बाहिर बाटोमा बसेर सहभोज गर्‍यौँ। सहभागीहरूले घरबाटै खाना बोकेर गएका थिए।

पदयात्रा आयोजक संस्था ‘निरोगधाम’ को खानाको मेनु विशिष्ट छ। शाकाहारी भोजन, आफूले खाने खानामा अन्नको मात्रा एक तिहाईमात्र र बाँकी सागसब्जी, सलाद। सागसब्जी र सलादमा सकेसम्म हरियो, पहेँलो, सेतोलगायत रङ मिश्रित हुनुपर्ने भन्ने छ। हामीले त्यही अनुशरण गरेका थियौँ।

बाघभैरवको दर्शनपछि मानवनिर्मित सिमेन्टका भर्‍याङ चढ्दै उकालो लाग्यौँ। रानीकोट हाम्रो पदयात्राका अन्तिम गन्तव्य थियो। ऐतिहासिक महत्त्व बोकेको यो ठाउँमा पुरातत्त्व विभागको एउटा सूचनापाटीबाहेक अरू कुनैमा सरकारको उपस्थिति देखिँदैन।

ऐतिहासिकता र प्राकृतिक सुन्दरताको अनुपम जोड रहेको यो ठाउँ संरक्षण र प्रवर्धनको उचित पर्खाइमा छ। स्थानीय सरकारले यथोचित् ध्यान दिएर पर्यटकीय महत्त्व बोकेको यस स्थानको व्यावसायिक हिसाबले प्रवर्धन गर्नुपर्छ।

रानीकोटको थुम्कोलाई चारैतर्फ नाला खनेर सामरिक अवरोध खडा गरिएको छ। ताकि शत्रुले सजिलै हमला गर्न नसकोस्। दुईवटा काठको फाटक (मुढा) मा टेकेर थुम्कोमा पुग्यौँ।

पहाडको टुप्पैमा पुगेर चारैतर्फ नजर लगाएर हेर्दा मनै आनन्द भयो। हराभरा हरियाली जंगल, लतालहरा, जंगली फूल, चराचुरुङ्गीको आवाज त भई नै हाल्यो। संयोगले हाम्रो टोलीमा वनस्पतिशास्त्री पनि हुनुहुन्थ्यो। कुनै विज्ञान कलेजमा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो।

बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उपत्यका आक्रमण गर्न निर्माण गरिएका सैनिक महत्त्व बोक्ने यो रानीकोट पनि त्यसैगरी मिल्किएको अवस्थामा देख्दा दुःख लाग्यो। हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर लियौँ। पहिला आएको बाटोभन्दा फरक ओरालो लाग्यौँ ठाडै भिरालो। यहाँ पनि भर्‍याङ बनाइएको रहेछ। तर संरक्षण अभावमा झाडीले छोपेको अवस्थामा छ। दुवैतर्फ फलामे बार लगाइएको छ। बारको छेउछाउ प्लास्टिकका बोतल, खाली खोल, झोला, नकुहिने अनेक फोहर रहेछ। यो ठाउँ सफाइको प्रतीक्षामा छ।  जुन बाटो गएका थियौँ, सोही बाटो लखरलखर फेदी झर्‍यौँ। गुन्डुमा हाम्रो प्रतीक्षामा बसेको बसको सिटमा थकित शरीरलाई बिसायौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =