लुको नेपाल म्याराथन : एमसीसी कार्यान्वयनबारे चासो

हिमाल प्रेस २९ असार २०८० २१:४६
32
SHARES
लुको नेपाल म्याराथन : एमसीसी कार्यान्वयनबारे चासो

काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नियमित कूटनीतिक छलफलका लागि तेस्रोपटक नेपाल भ्रमण गरेका छन्। उनी एकदिने राजनीतिक म्याराथुन सकेर आजै (शुक्रबार) राति स्वदेश फर्कँदैछन्।

उनी सन् २०२१ को नोभेम्बर र २०२२ को जुलाईमा गरी दुईपटक नेपाल आएका थिए। त्यो पनि यही पदीय हैसियतमा।

धेरैलाई लाग्ला अमेरिकीहरू यसरी किन आइरहेका छन्? तर अमेरिकाको विदेश मन्त्रालयको यो नियमित भ्रमण रहेको दूतावासले जनाएको छ। उनी यही क्षेत्र हेर्ने हुनाले उनको भ्रमण हुन स्वाभाविक हो। यद्यपि अन्य क्षेत्र हेर्ने व्यक्ति यो क्षेत्रमा घुम्न आउँदा अस्वाभाविक हुन्थ्यो। तर उनी स्वयं यही क्षेत्र नियाल्ने हुनाले पनि उनको भ्रमणलाई अन्यथा लिन नमिल्ने परराष्ट्र अधिकारीको धारणा छ।

उनी भारत र बंगलादेशको भ्रमणपछि नेपाल आएका हुन्। भारत र बंगलादेशमा अमेरिकी टिम ठूलो रहे पनि बंगलादेशबाट आधा टिम नेपाल आएको हो।

पहिलेपहिले नेपाल र बंगलादेशको भ्रमण गरेर दिल्लीलाई बुझ्ने गरेका पश्चिमा कूटनीतिज्ञहरू अहिले पहिले नै दिल्लीको कुरा सुनेर उसका छिमेकी मुलुक पुग्न थालेका छन्। हुन पनि अमेरिका–भारतको सम्बन्ध कसिँदै जानु र भारतलाई खुसी राख्न एसिया प्यासिफिकबाट इन्डो प्यासिफिक बन्नु यसका उदाहरण छन् नै।

लामो विवाद र बहसपछि मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा आएपछि लुको यो दोस्रो भ्रमण भए पनि उनी एमसीसी कार्यान्वयनका लागि जोड दिन नेपाल आएका थिए। उनले एमसीसी कार्यावन्यनमा जोड दिने भन्दा पनि नेपाललाई यसले हित गर्ने बताउँदै आएका थिए। हुन पनि नेपालको आन्तरिक विकासमा टेवा पुग्ने र देखिने खालको सहयोगको रुमपा अमेरिकाले एमसीसीलाई प्रचार गरे पनि यहाँका कम्युनिस्ट नेताहरुले रणीतिक चाल भनेर विरोध गरेका थिए।

लु ले नेपाल भ्रमणका क्रममा एमसीसी परियोजनाअन्तर्गत ऊर्जा र पूर्वाधार विकासमा भएको प्रगतिका विषयमा छलफल गरेका छन्। उनले सत्तारुढ दलका नेता र प्रतिपक्ष दलका शीर्ष नेतासँग भेट गरिसके। सबै भेटमा उनको चासो नेपालको राजनीतिक स्थिरता र समयमा एमसीसी परियोजना सम्पन्न हुने/नहुनेमा नै केन्द्रित थियो।

चिनियाँ मूलका अमेरिकी हुनाले उनले चीनको बारेमा पनि चासो राखेका थिए। एमसीसीको विषयमा बेइजिङ अनावश्यक रूपमा बोल्दा नेपालले कुनै पनि प्रतिक्रिया नदिएको विषयले अमेरिकी अलिक सशंकित बनेको थियो।

अहिले पनि बेइजिङले सबै सहयोगलाई बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत भनिरहेको छ। तर नेपालले यसमा कुनै प्रतिक्रिया नदिएको विषयमा पनि अमेरिकीहरू किन प्रतिक्रिया दिएन भनेर घोत्लिएका छन्। यद्यपि नेपाल अझै उत्तर दिने या नदिने भन्नेमै रहेको एक परराष्ट्र अधिकारीले बताए। चीनले नेपाललाई दिने दुईपक्षीय सहयोग पनि बीआरआई भनेको खण्डमा के भन्ने अन्योल छ।

यद्यपि नेपाल र भारत सम्बन्धको बीचमा चीन खेल्न थालिसकेको भनिरहँदा अमेरिकी अधिकारीको उपस्थिति बढ्नु भनेको सामान्य होइन। दुई छिमेकबीच तेस्रो छिमेकको प्रवेश साँच्चै सहज मानिँदैन। त्यसैले नेपालले यस्ता विषयमा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ। नेपाली राजनीतिक नेतृत्वले मुलुक र नागरिकभन्दा आफ्ना हितानुकूल कुरा गरेर पनि यो अवस्था आएको बुझाइ आम नागरिकको छ।

अमेरिका तेस्रो छिमेकी!

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको अमेरिका भ्रमणपछि लु भारत र बंगलादेश हुँदै नेपाल आएका हुन्। हुन त लु यसअघि पनि नेपाल भारतको भ्रमण गरेका थिए। लुले नेपालको राजनीतिक अवस्थाबारेमा छलफल गर्दै यहाँको राजनीतिक स्थिरताको विषयमा बढी चासो राखेका थिए।

नेपालमा राजनीतिक स्थिरता भएमा अधिक काम अघि बढ्ने र नेपाल विकासको पथमा अग्रसर हुने धारणा अमेरिकीको छ। अमेरिकाले नेपाललाई पहिलेदेखि नै माया गर्दै आएको हो तर पछिल्लो समय नेपाल आफैँ अमेरिकासँग टाढिएको थियो।

अहिले अमेरिका नेपालको साँच्चै तेस्रो छिमेकीको रूपमा प्रस्तुत हुन खोजिरहेको छ। त्यही अमेरिकी निकायका सहायक मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार पुगेर पत्नि सीतालाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री प्रचण्डसँग केहीबेर कुराकानी गरेर फर्केका छन्।

उनले परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गरे। उनी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहकार्य विदेशमन्त्रीमा नियुक्त भएको तीन महिनापछि नै नेपाल आएका थिए। उनी पहिलोपटक चारदिने भ्रमणमा आएका थिए। त्यसपछि दुईदिने र अहिले एकदिने भ्रमणमा आएका हुन्।

साउदले उनीसँग विशेष गरी अन्य दुईपक्षीय विषयसँगै नेपाली युवाहरू अमेरिकामा अध्ययन गर्न जाने गरेको र अमेरिकामा नेपाली डायसपोरा अधिक रहेका कारण आफन्तको आउजाउ पनि हुन्छ भन्दै नेपालबाट अमेरिका जानका लागि आवश्यक पर्ने भिसामा लाग्ने लाइनको कुरा उठाएका थिए।

अहिले निवेदन दिएपछि अन्तरवार्ताको समय १ वर्षपछि आएको भन्दै कागज बोकेर मन्त्रालय धाएको विषय उनले सुनाएपछि लु हाँसेका थिए। त्यसलाई सम्बोधन गर्न लुले सक्दो पहल गर्ने बताएको सहभागीले जानकारी दिए। नेपालीहरू अमेरिकामा रहेर गरेको योगदानको विषयमा पनि चर्चा भएको थियो। अमेरिकामा उनीहरूको उपस्थिति र कामबारे लामो चर्चा भएको हो।

नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न लागिरहेको अवस्थामा अमेरिकी सहयोग निरन्तर आवश्यक रहने सुनाउँदै सहयोग उपलब्ध गराउन आग्रह गरे। नेपाल अल्पविकसितबाट एक तहमाथि उक्ले पनि अहिले नेपालले अमेरिकाबाट पाइरहेका सहयोगहरू निरन्तर हुनुपर्ने अपेक्षा राखेको जानकारी मन्त्री साउदको सचिवालयले दिएको छ।

अमेरिकाले नेपालीलाई दूईतीन पटकसम्म भिसा नदिएर हैरान गर्ने र पछि भिसा दिने गरेको विषय पनि खुला रूपमा उठाएको तथा भिसा प्रक्रिया निकै महँगो भएको पाटो पनि उठाएका थिए। लुले यो विषय गम्भीर रहेको बताएका थिए। भिसा दिने वा नदिने राइट भिसा अधिकारीलाई रहने र कानुनअनुरूप नै भिसा शुल्क लिएको हुनुपर्ने भन्ने मान्यता रहेको उनले बताए। अमेरिकाको अर्थतन्त्र विकासमा नेपालीहरूले गरेको योगदान रहेकाले पनि नेपालीको लागि अमेरिकाले ध्यान दिनुपर्नेमा मन्त्रीले जोड दिएका थिए।

‘संसद्बाट एमसीसी अनुमोदनपछि अमेरिकी उपस्थिति बढ्ने अन्य मित्र मुलुकको धारणाअनुसार नै अमेरिकी आउजाउ बाक्लै भएको झैँ लागे पनि विगतमा पनि उनीहरूबाट यही तबरको रुटिन भ्रमणहरू हुन्थे,’ परराष्ट्र अधिकारीले भ्रमणको बचाउ गर्दै भने, ‘नेपालको तेस्रो छिमेकी भनेर चिनिने अमेरिका नेपालमा आउन आवश्यक छ। अमेरिकाको नेपाल उपस्थिति पछिल्लो समय अपरिहार्य नै छ। नेपालमा भारतको सक्रियता बढ्नु, नरेन्द्र दामोदरदास मोदीले नेपालको संविधान जारी हुँदा नाकाबन्दी लगाउनु, नेपाली भूभागमा अझै सेना राख्नुलगायतका लागि पनि अमेरिकी उपस्थिति आवश्यक छ।’

यतिबेला एमसीसीको कट्टर आलोचक पार्टी नै सरकारको नेतृत्वमा रहेकाले यसको कार्यान्वनको पाटोमा ढिलाइ हुने हो कि भन्ने आंशका अमेरिकीमा छ। त्यही आशंकाका कारण नेपाल भ्रमण लुको सूचीमा नभए पनि बंगलादेश र भारत आउँदा नेपाल किन छुटाउनु भनेर आएका हुन्। उनी भारतको नियोगमा कूटनीतिक पदमा रहँदानै नेपाल आएका थिए। त्यतीबेलाको नेपाल स्मरण गरेका लुले आफ्नो भ्रमणमा नेपालको विकास र अमेरिकी सहयोगमा केन्द्रित गरे।

प्रचण्ड नेतृत्व सरकार बनेपछि अमेरिकाबाट मात्र होइन अन्य मुलुकबाट पनि यस्ता राजनीतिक भ्रमण भइरहेका छन्। माघ १६ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र माघ २४ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआ२डी० प्रमुख समान्था पावर आएका थिए।

फागुन १ गते दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अफ्रीन अख्तर पनि नेपाल आए। कोभिडपछि खुला भएको अवस्थामा अधिक भ्रमण भएका हुन्।

अमेरिकी मात्र होइन बेलायतका रक्षामन्त्री एण्ड्रयु मोरिसन गत माघमा नेपाल आएका थिए। त्यस्तै भारत र चीनका उच्च अधिकारी आउने क्रम पनि जारी नै छ।

नेपालबाट पनि भारततर्फ प्रधानमन्त्रीस्तरको भ्रमण भइसकेको छ। पछिल्लो समय नेपालले मुलुक विशेष सम्बन्धको परिकल्पना गरेको छ। त्यही नीतिमा हिँडे नेपाल साँच्चै अब्बल मुलुकको रूपमा साबित हुने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।

प्रकाशित: २९ असार २०८० २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =