ललितपुर महानगरले मर्मत गरी चलायो १ सय ६ वर्ष पुरानो दमकल

हिमाल प्रेस २९ असार २०८० ८:१५
120
SHARES
ललितपुर महानगरले मर्मत गरी चलायो १ सय ६ वर्ष पुरानो दमकल

काठमाडौँ– ललितपुर महानगरपालिकाले १ सय ६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको छ। महानगर क्षेत्रमा हुन सक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले उक्त दमकल सञ्चालनमा ल्याएको हो।

६ वर्षको प्रयासमा दमकल पूर्ण रूपमा काम गर्न सक्ने भएको छ। प्राविधिकहरूका अनुसार दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो। महानगर प्रमुख चिरीबाबु  महर्जनले भने, ‘झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडान गरेर अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा आइपुगेको छ।’

यो छिटो आगो निभाउन सक्ने क्षमता भएको दमकल हो। महर्जनले  एक सय छ वर्ष पुरानो दमकललाई ‘सम्पदा’ दमकल भन्दा फरक नपर्ने बताए। दमकल ३५ वर्षदेखि बिग्रिएर थन्किएको थियो।

‘डेनिस नामको यो दमकल करिब १ सय ६ वर्ष पुरानो हो। यो ३५ वर्षदेखि बिग्रिएर थन्किएको अवस्थामा थियो। पुल्चोकका स्थानीय मोहन नकर्मीले ५ वर्षअघि दकमल बनाउन प्रस्ताव गरे। उनको प्रस्तावलाई स्वीकार गर्दै थन्किएको झण्डै ६ वर्षपछि दमकल सञ्चालन भएको छ,’ महानगरले भनेको छ।

उक्त दमकल महानगरपालिकाले पुल्चोकस्थित जुद्धवारुण यन्त्र कार्यालय परिसरमा राखेको छ। शुक्रबार बिहान प्रमुख महर्जनले दमकलबारे जानकारी लिएका छन्। उनले भने, ‘लिलाम भइसकेको डेनिस दमकल महानगरका लागि उपहार हो। दमकल बनाउन अहोरात्र खटिनुहुने मोहनप्रसाद नकर्मीलगायत सबैजना धन्यवादको पात्र हुनुहुन्छ।’

महानगरपालिकाले प्राकृतिकलगायत अन्य विभिन्न खालका प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि योजनाबद्ध तरिकाले काम गरिरहेको र यसैअनुरूप दमकल सञ्चालनमा ल्याइएको महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =