नेपालमा लगानी गर्न कोरियालाई चेम्बरको आग्रह

हिमाल प्रेस २८ असार २०८० १८:०५
4
SHARES
नेपालमा लगानी गर्न कोरियालाई चेम्बरको आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले नेपालमा गर्न दक्षिण कोरियासँग आग्रह गरेको छ। नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ पार्कसँगको भेटघाटमा चेम्बरले उक्त आग्रह गरेको हो।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न राजदूत पार्कसँग आग्रह गरे। ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ,’ उनले भने, ‘लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ।’

नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधि क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग मल्लले आग्रह गरे।

भारत, बंगलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानीको प्रतिफल सुनिश्चित रहेको समेत बताए।

साथै दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्न पनि अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए। ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ,’ उनले भने।

अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यम उद्योगमा लगानी गर्न पनि राजदूत पार्कको ध्यानाकर्षण गरे। सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको मल्लले बताए।

कोरियन लगानीबाट १२ हजारभन्दा बढी नेपालीले रोजगारी पाएकाे पनि मल्लले स्मरण गरे। नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने बताए। ‘नेपाल र कोरियाको सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा पुग्दैछ,’ उनले भने, ‘दुई देशका नागरिकबीचको सम्बन्ध अझ दिगो बनाउन प्रयास गरिनेछ।’

प्रकाशित: २८ असार २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =