इक्यान महाधिवेशन : अध्यक्षका चार उम्मेदवारका यस्ता छन् चुनावी एजेन्डा

विपिन पोखरेल २८ असार २०८० ८:१७
322
SHARES
इक्यान महाधिवेशन : अध्यक्षका चार उम्मेदवारका यस्ता छन् चुनावी एजेन्डा

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि चार जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

असार ३० गते हुने महाधिवेशनका लागि पूर्व अध्यक्ष विष्णुहरि पाण्डे र वर्तमान कार्यसमितिका उपाध्यक्ष शेषराज भट्टराईले नयाँ नेतृत्वको लागि दुईवटा प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन्। वर्तमान कार्यसमितिका उपाध्यक्ष देवीदास भट्टराई र कृष्णहरि केसीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

इक्यानलाई गतिशील बनाउने पाण्डेको योजना

पाण्डे नेतृत्वको समूहबाट उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठ छन्। यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठी रहेका छन्। कोषाध्यक्षमा विनोदकुमार सुवेदी, सहकोषाध्यक्षमा हरि सिग्देलले उम्मेदवारी दिने घोषणा गरेका छन्।

कार्यसमिति सदस्यका लागि आशिस रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा जमरकट्टेल र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

अध्यक्षका उम्मेदवार पाण्डेले इक्यानलाई गतिशील बनाउने योजना अघि सारेको बताए। उनले भने, ‘इक्यानको व्यवस्थित कार्ययोजना सहित अघि बढेर परामर्श व्यवसायलाई थप मर्यादित बनाउन तर्फ लाग्ने छु। अघिल्लो कार्यकाल पनि योजनावद्ध रुपमा काम अघि बढाएर समयसीमाभित्रै नेतृत्व हस्तान्तरण गरेको थिए। यस पटक पनि हाम्रो टिमले काम गरेर देखाउँछ।’

शेषराज भट्टराईको प्रमुख मुद्दा : धरौटी बन्द गर्ने र एनओसीलाई प्रभावकारी बनाउने

इक्यानको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष शेषराज भट्टराईले पनि समूह नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्। भट्टराई नेतृत्वको प्यानलमा उपाध्यक्षका उम्मेदवार श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापा छन्। यस्तै महासचिवमा दीपकराज भुसाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी दिने भएका छन्। कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्।

कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, हेमराज थापा भट्टराई समूहबाट उम्मेदवारी दिने भएका छन्।

इक्यान अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशीलतामा थप टेवा पुग्ने बताएका छन्। उनले इक्यानमा आफ्नो सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण र यसको अभ्यासमा ध्यान दिने बताए।

उनले भने, ‘धरौटी बन्द गर्ने र एनओसीलाई प्रभावकारी तहबाट कार्यान्वयन गर्न पहल गर्ने मेरो प्रमुख मुद्दा हो। मैले ‘स्मार्ट इक्यान’ निर्माण गर्न पहल गर्ने योजना अघि सारेको छु। मेरा प्रतिस्पर्धीले गर्न सक्ने मैले गर्न नसक्ने भन्ने विषय छैनन्। परामर्श व्यसायप्रति सरकारको दृष्टिकोण परिवर्तन गर्न मेरो भूमिका रहनेछ।’

सरोकारवालासँग सल्लाह गरेर मात्र कुनै पनि निर्णय गर्न पहल गर्ने योजना अघि बढाउने, अन्तर्राष्ट्रिय शिक्षासँग जोडिएका कूटनीतिक नियोगसँग छलफल गर्ने, परामर्श व्यवसायीको छमता विकासमा काम गर्ने योजना अघि सारेको उनको भनाइ छ।

पारदर्शी, प्रविधिमैत्री इक्यान भन्ने नारासहित मैदानमा देवीदास भट्टराई

वर्तमान कार्यसमितिका उपाध्यक्ष देवीदास भट्टराईले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले ‘गुट र फुटरहित : पारदर्शी, प्रविधिमैत्री इक्यान’ भन्ने नारा अघि सारेका छन्। उनले परामर्श व्यवसायको मर्यादा कायम गर्न, सरकारको यस व्यवसायप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन, परामर्श व्यवसायमा वैदेशिक लगानीको विपक्षमा प्रभावकारी रुपमा वकालत गर्न आफूले उम्मेदवारी दिएको बताए।

उनले भने, ‘सदस्यमैत्री इक्यान, बैंकमा रहेको इक्यानको पैसाको सदुपयोग गर्नुपर्नेछ। इक्यानको आफ्नै भवनको स्थापना गर्न, शाखालाई थप व्यवस्थित बनाउन मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ। मैले सदस्य, सचिवदेखि दुईपटक उपाध्यक्षसम्म निर्वाचित भएर इक्यानको निम्ति काम गरेको छु सबै सदस्यहरूले मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’

समूहगत गुटबन्दीको विरोधमा कृष्णहरि केसी

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णहरि केसीले प्यानलको निर्माण नगरी अध्यक्ष पदमा एक्लैले उम्मेदवारी दिने घोषणा गरेका छन्। केसीले एउटै पदमा नदोरिने उद्देश्यका साथ अध्यक्ष पदमा काम गरेर देखाउन उम्मेदवारी दिएको बताए।

उनले भने, ‘म संस्थामा समूहगत गुटबन्दीको विरोधी हुँ। म अध्यक्षको प्रत्यासी हुँ। मैले संस्थाको नेतृत्वका लागि स्वतन्त्र मान्छे जानुपर्छ भन्ने हो। सबै सदस्यलाई इक्यानप्रति अपनत्व विकास गर्न उम्मेदवारी दिएको हुँ। एक पद एक कार्यकाल हुनुपर्छ मेरो मान्यता हो।’ उनले विदेशी लगानी, धरौटी जस्ता विषयको विरोध गरेका छन्।

यी बाहेक उपाध्यक्षमा यक्ष विलास पौडेल (वाईबी), बिमलमान राजभण्डारी, सचिवमा एलबी तामाङलगायतले आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन्।४६७ जना सदस्य संख्या रहेको इक्यानको निर्वाचनले २६ जना पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ।

प्रकाशित: २८ असार २०८० ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast