काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षक र विद्यालय कर्मचारीका माग र मुद्दालाई सम्बोधन गर्न थप आन्दोलन गर्ने भएको छ। महासंघले यसका लागि महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो।
विगतमा भएका सबै सहमति तथा सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीका मागमुद्दा सम्बोधन गराउन फेरि कडा आन्दोलन आवश्यक रहेको ठहर महासंघले गरेको छ। ‘त्यसको तयारी गर्न सहअध्यक्षको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ’, महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी महासंघले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमतिविपरीत संघीय शिक्षा ऐन मस्यौदा अगाडि बढाइएको भन्दै आपत्ति जनाउँदै आएको छ। दुरगामी महत्त्वको ऐन अघि बढाउँदै गर्दा यसको मुख्य सरोकार पक्ष शिक्षक महासंघसँग औपचारिक छलफल हुन नसकेकोमा महासंघले विरोध गरेको हो।
मन्त्रालय र महासंघबीच विगतमा पटकपटक गरी ३० बुँदे र ५१ बुँदे सहमति भएको थियो। तर ती सहमति कार्यान्वयन नभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले भनेको छ, ‘सहमति माथि षड्यन्त्र हुनु भनेको देशमा कार्यरत स्थायी, राहत, साबिक उमावि, प्रारम्भिक बालकक्षा, अस्थायी करार शिक्षण सिकाइ अनुदान, विशेष शिक्षालगायत सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारीको हकहितमाथिको षड्यन्त्र हो।’