
काठमाडौँ- सरकारले चालु आर्थिक वर्ष २०७९/८० को भुक्तानी बन्द गरेको छ। आर्थिक वर्ष सकिन करिब १ साता अघि नै बजेट भुक्तानी रोकेको हो।
महालेखा नियन्त्रक कार्यालयले यसअघि नै सार्वजनिक गरेको सूचनाअनुसार सोमबारदेखि सरकारी भुक्तानी रोकिएको हो।
आइतबारको विवरणअनुसार बजेट खर्च कुल लक्ष्यको खर्च ७६.६४ प्रतिशत भएको छ।
चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा आइतबारसम्म १३ खर्ब ७४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ खर्च गरिएको छ। उक्त खर्च कुल बजेटको तुलनामा ७६.६४ प्रतिशत हो।
महालेखाका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा पुँजीखत खर्च न्यून छ। कुल ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिइएकोमा आइतबारसम्म २ खर्ब १ अर्ब ४ करोड ५७ लाख रुपैयाँ खर्च गरिएको छ।
उक्त खर्च कुल पुँजीगत बजेटको ५५.२२ प्रतिशत खर्च हो। त्यस्तै चालुतर्फ ८४.६७ प्रतिशत खर्च गरिएको छ। वित्तीय व्यवस्थातर्फ ७०.७५ प्रतिशत खर्च गरिएको महालेखाको विवरण छ।
यसअघि शनिबारको विवरणअनुसार कुल बजेट खर्च लक्ष्यकाे ७४.३१ प्रतिशत रहेको थियो।