काठमाडौँमा ‘मर्निङ वाक’ निस्किएका महिलाको गहना लुट्ने चारजना पक्राउ

हिमाल प्रेस २४ असार २०८० १५:३९
102
SHARES
काठमाडौँमा ‘मर्निङ वाक’ निस्किएका महिलाको गहना लुट्ने चारजना पक्राउ

काठमाडौँ- काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी दिएको हो।

‘मर्निङ वाक’मा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए।

‘बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्‍यौँ र यो अनुसन्धानलाई अगाडि बढायौँ,’ उनले भने,’यसमा ग्रुप नै संलग्न रहेको पाइयो। अहिलेसम्म ४ जनालाई पक्राउ गरियो। बाइकको प्रयोग गरेर उनीहरूले लुटेका हुन्।’

उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको सिक्री, ६ वटा मोबाइल सेट बरामद गरिएको छ। लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ असार २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =