युवा पलायन

पहिला गोर्खा भर्ती, अहिले पढ्न विदेश

विजय नेपाल २४ असार २०८० १०:३८
324
SHARES
पहिला गोर्खा भर्ती, अहिले पढ्न विदेश पोखराको चिप्लेढुंगामा रहेको ‘पुष्प सदन’। जहाँ वैदेशिक अध्ययनका लागि परामर्श दिने १२ वटा कन्सल्टेन्सी सञ्चालित छन्। तस्बिर : विजय नेपाल

पोखरा– पोखराको भिसीमार्गका २० वर्षीय प्रसन्न गुरुङ यसै वर्ष अस्ट्रेलिया जाने तयारी मा छन्। अघिल्लो वर्ष १२ कक्षा सकेका उनी बाबुबाजेले रोज्दै आएको लाहुरे बन्ने मोह त्यागेर उच्चशिक्षासँगै सफल भविष्य खोज्न त्यता जान लागेका हुन्।

पढाइमा पनि उनी अब्बल मान्निछन्। एसइईमा ए प्लस ल्याएका उनले १२ मा म्यानेज्मेन्टमा राम्रो अंक ल्याएर पूरा गरे। प्रसन्न भन्छन्, ‘हाम्रो गुरुङ समुदायमा पहिलेदेखि नै लाहुरे बन्ने चलन हो तर मलाई लाहुरे देखाउन मन लागेन। बरु पढेरै विभिन्न अवसर पाउन सकिन्छ भन्ने सानैदेखि लागेको हो।’ उनी एक प्रतिनिधि पात्र हुन्। जो बाबुबाजेको पहिलो रोजाइ चटक्कै माया मारेर पढाइमा केन्द्रित भए।

खासमा पोखरासहित बुटवल, धरान, नारायणगढ लाहुरेले बसाएको सहर भनी चिनिन्छन्। विगतमा यहाँका जनजाति समुदायको पहिलो आकर्षण ब्रिटिस, सिंगापुर सेनामा थियो। भर्तीका लागि सुरुमा आफूलाई विभिन्न परीक्षामा दर्ज नगरी हत्तपत्त अरु पेसा रोज्दैनथे। पोखरा आसपासका हरेक गुरुङ परिवारमा कम्तीमा एक सदस्य ब्रिटिस, सिंगापुर, भारतीय सेनामा भर्ती नभएको घरै हुन्थेन।

पोखरामा लाहुरे संस्कृतिको प्रभावकै कारण यहाँका टोलहरूको नाम समेत त्यस्तै राखिएको छ। जस्तो भिसी मार्ग, सिंगापुर टोल, गोर्खा चोक, शिरमुर लाइन आदि।
तर अहिले समय फेरिँदो छ।

पहिलो पुस्ता लाहुरे भयो। दोस्रोमा छोरालाई लाहुरे बनायो। तेस्रो पुस्ता भने पढ्न चाहन्छ। ज्यानको बाजी थापेर लड्नुपर्ने कहानी सुनाउँदै नाति पुस्तालाई शिक्षाको महत्त्व बुझाउँदै गएको छ।

त्यसो त ब्रिटिस तथा सिंगापुरमा बर्सेनि लिने भर्नादरको संख्या कम हुँदै जाँदा प्रतिस्पर्धा पनि झन् कडा बन्दै गएको पाइन्छ। तमु एजुकेसनल एन्ड करियर एड्भान्समेन्ट नेटवर्क अध्यक्षसमेत रहेका वातावरणविद् डा. हुम गुरुङ भन्छन्, ‘ब्रिटिस लाहुरेका लागि वर्षमा करिब ९ हजार नेपालीले आवेदन दिन्छन् तर ४ प्रतिशतमात्र सफल हुन्छन्।’

उनका अनुसार पहिला जनजातिहरू गुरुङ, मगर, राई, लिम्बुलाई अवसर दिइन्थ्यो अहिले सबै समुदायलाई लिन थालेको र कोटा पनि सरदर ३ सय हाराहारी हुँदा प्रतिस्पर्धा कडा बन्दै गएको हो।

ब्रिटिसमा सन् १९९७ सालयता भर्ती भएका गोर्खालीलाई गेसोको आन्दोलनको दबाबका कारण बेलायत सरकारले स्थायी बसोबासकै सुविधा दिएको छ। त्यसैले पोखराका धेरै लाहुरेहरू उतैतिर बसाइँ सारे। त्यसबाहेक सिंगापुर लाहुरेहरू केही पोखरामै बसोबास गर्छन् भने केही आफ्ना छोराछोरीलाई अस्ट्रेलिया, अमेरिका, क्यानाडा लगायत विभिन्न मुलुक पठाएर उतै गएर बस्ने पनि छन्।

पोखराको एक शैक्षिक परामर्शदाता केन्द्रमा विदेश अध्ययनका लागि परामर्श लिँदै विद्यार्थी। तस्बिर : विजय नेपाल

यो समयको माग हो। पहिला लाहुरे हुने प्रचलन नै थियो। अहिले पनि कोशिस त गर्छन् तर कमैको भाग्य चम्किन्छ। विभिन्न अवसर खोजीसँगै शिक्षाको महत्त्व बढ्दै जाँदा अधिकांश युवा अचेल कन्सल्टेन्सी धाउने गरेको भेटिन्छन्। कक्षा १२  सक्नेबित्तिकै उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन्।

पोखराको व्यस्तबजार चिप्लेढुंगामा ‘पुष्पसदन’ नामक भवन छ। यो भवनमा मात्रै विदेश पठाउने १२ कन्सल्टेन्सी सञ्चालित छन्। सबैजसो कन्सल्टेन्सीमा युवापुस्ताको भीडभीड पाइन्छ। नेपालमा पढेर पनि भनेजस्तो कामकाज नपाइने, पाए पनि मनग्ये पैसा नहुने हुँदा युवाको मोह विकसित मुलुकमा बढीजस्तो हुने गरेको हो।

चिप्लेढुंगास्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका म्यानेजर विष्णु गौतम भन्छन्, ‘नेपालमा दिने शैक्षिक ज्ञानभन्दा विदेशको पढाइले थप शैक्षिक ज्ञान हासिल पनि हुने र पछि त्यहीअनुसारको आयआर्जन हुने आशामा कक्षा १२, ब्याचरसँगै मास्टर्ससमेत विद्यार्थीको चाप शबढेको हो।’

एक्सपटैले हाल अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत र न्युजिल्यान्डमा जान चाहने विद्यार्थीका लागि परामर्श दिने तथा सहजीकरण गर्दै आएको छ। अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्पर्टले पोखरामा १० वर्षदेखि शाखा सञ्चालन गर्दै आएको हो। यस्ता शाखा नेपालमा १९ रहेकोमा पोखरा शाखाबाट मात्रै बर्सेनि तीन/चार सय जना विद्यार्थी विदेश जाने गरेको गौतमले सुनाए। यसरी जाने विद्यार्थीमा जनजाति समुदायका बढी छन्।

मुलुकमा अस्थिर राजनीतिसँगै रोजगारी सिर्जना नहुँदा डिग्री होल्डरहरूले सर्टिफिकेट दराजमा थन्काउनुपर्ने बाध्यता छ। त्यसैले विदेशमा उच्च शिक्षासँगै रोजगारी ग्यारेन्टी हुने भएकोेले अधिकांशको रोजाइ विदेश हुने गरेको पाइन्छ। नेपालीको क्रयशक्ति बढ्दै गएकाले पनि विदेश जान चाहेका हुन् कि भन्ने अनुमान गौतमले गरे।

पोखरामा शैक्षिक परामर्श केन्द्र (इक्यान) सँग ४५ कन्सल्टेन्सी आबद्ध रहेको इक्यान कास्की अध्यक्ष रमेशकुमार थापाले जनाए। शिक्षा मन्त्रालयमा दर्ता नभई कम्पनी रजिस्ट्रर्ड कार्यालयमा दर्ता गरेर सञ्चालित समेत गरी पोखरामा साढे २ सय हाराहारीमा कन्सल्टेन्सी सञ्चालित रहेको अनुमान छ।

शिक्षाको महत्त्व प्रमुख कारण

लाहुरे बन्नुभन्दा पढेर आफैँ सक्षम बन्नुपर्छ भन्ने ज्ञान जनजाति समुदायमा बिस्तारै बढ्दै गएको तमु एजुकेसनल एन्ड करियर एड्भान्समेन्ट नेटवर्क अध्यक्ष डा. हुम गुरुङ बताउँछन्।

‘यो समयको माग हो। पहिला लाहुरे हुने प्रचलन थियो। अहिले पनि कोसिस त गर्छन् तर कम छन्,’ उनी भन्छन्, ‘शिक्षाको महत्त्व बुझ्दै आएपछि दीर्घकालीन रुपमा यो की (साँचो) हो जसले अपार सम्भावनाको ढोका खुल्ने गर्दछ भन्ने बुझ्न थाले।’

उनका अनुसार नेपालीहरू बढी जाने अस्ट्रेलियामा तेस्रो उद्योग भनेकै शिक्षा हो। उनी भन्छन्, ‘त्यहाँका नागरिकले नर्सिङका लागि वार्षिक शुल्क ४ हजार डलर तिरे पुग्छ जबकि विदेशीले ४० हजार डलर दिनुपर्छ।’

उनका अनुसार नेपालीमा सन् २००० पछि विदेशमा पढ्न जाने प्रचलन सुरु भयो। गुरुङ समुदायमा अझ केटाको तुलनामा बढी केटी पढ्न जान्छन्। ‘भर्तीको फन्दा’ का लेखक मनोज घर्तीमगर भन्छन्, ‘वैदेशिक रोजगारी हुनु र शिक्षाको महत्व बढ्न थालेपछि लाहुरे हुनैपर्छ भन्ने भएन। उनीहरू (खासगरी जनजाति समुदाय) ले पनि पढेर विकल्प खोजेको हुनुपर्छ।’

गोर्खा भर्तीमा विद्यावारिधि गर्दै गरेका मनोजका अनुसार औपचारिक रूपमा सन् १८१५ देखि नेपालीहरू ब्रिटिस गोर्खामा भर्ती हुन थालेका हुन्। पोखरामा २०३५ सालमा ब्रिटिस क्याम्पले कार्यालय खोलेपछि भर्तीका लागि अझ सहज भएको थियो।

ब्रिटिस गोर्खा सेनामा भर्तीका लागि तयारीमा रहेका युवा। तस्बिर : विजय नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast