‘पोखरा र भैरहवा विमानस्थलमा उडानका लागि ५-६ पटक पत्राचार गर्‍यौँ, नेपालले जवाफ दिएन’

हिमाल प्रेस २२ असार २०८० १८:५३
82
SHARES
‘पोखरा र भैरहवा विमानस्थलमा उडानका लागि ५-६ पटक पत्राचार गर्‍यौँ, नेपालले जवाफ दिएन’

काठमाडौँ- नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल-हेलले पोखरा र भैरहवा विमानस्थलमा कतारबाट सिधा उडानका लागि ५-६ पटक पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै जवाफ नआएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेटमा राजदूत युसुफबिनले पोखरा र भैरहवा विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर सरकारलाई ५-६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै जवाफ नआएको बताएका हुन्।

‘कतारबाट सिधा उडानका लागि नेपाल सरकारका निकायमा ५-६ पटकसम्म पत्राचार गरेका थियौँ। तर, नेपाली पक्षबाट कुनै प्रतिक्रिया आएन,’ अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले भने। राजदूत युसुफबिनले नेपालले चासो राखेर अघि बढे पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न कुनै समस्या नरहेको बताए। उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको र पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको बताए।

राजदूत युसुफबिनले नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको बताए। नेपाली श्रमिकले कतारको विकासका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए।

भेटमा अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरेका थिए। अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताएका थिए।

बिदाइ भेटमा उनीहरूबीच नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो।

प्रकाशित: २२ असार २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast