१५ दिनभित्र छात्रवृत्ति विवरण दिन विद्यालयहरूलाई काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस २२ असार २०८० ९:५०
28
SHARES
१५ दिनभित्र छात्रवृत्ति विवरण दिन विद्यालयहरूलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एसईईमा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका छन्।

छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा महानगरपालिकाले आफैंले सञ्चालन गर्न लागेको पनि उनले जानकारी गराएका छन्।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ को व्यवस्थाअनुसार महानगर क्षेत्रका निजी विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थीको विवरण उपल्बध गराउन उनले सम्बन्धित विद्यालयको ध्यानाकर्षण गराएका छन्।

‘एसईई परीक्षामा पास भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-०८१ देखि काठमाडौँ महानगरपालिकाले आफैं नै सञ्चालन गर्न लागेको हो।’

यसका लागि महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थी संख्या असार मसान्तभित्र पठाउन उनले सूचित गराएका छन्।

‘विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरक-फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ। यसबाट देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरू आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रतिमहानगरको ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्, ‘यस सन्दर्भमा एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सोसरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई जानकारी गराइन्छ।’

प्रकाशित: २२ असार २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =