म पनि फेल भएको मान्छे हुँ

जगन्नाथ काफ्ले २१ असार २०८० १९:२७
216
SHARES
म पनि फेल भएको मान्छे हुँ

एसईईको नतिजा प्रकाशित भएको छ। कोही विद्यार्थीले ए प्लस, ए ग्रेड ल्याएका छन्। कसैले भने ए प्लस, ए ग्रेड ल्याउन सकेनन्। कतिपयको बी, सी ग्रेडमात्र आएको छ। अझै कसैको त ई ग्रेड पनि आयो होला। यतिखेर कतिपयलाई पिर परेको होला, कोहीले आफूलाई बेकामे ठानिरहेका होलान्।

तर यस विषयमा पिर गर्नु हुँदैन। यो कुरा म यसै भनिरहेको होइन, त्यसको कारण छ।

म पनि २०४७ सालको एसएलसी फेल मान्छे हुँ। अहिलेकै नतिजा प्रणाली मान्ने हो भने म ई ग्रेडवाला हुँ। त्यतिखेर मलाई पनि पटक्कै पढ्न मन लाग्दैनथ्यो। पढेको कुरा दिमागमा मरिगए नि छिर्दैनथ्यो। एक कक्षादेखि एसएलसीसम्म कुनै एक विषय नलागी कहिल्यै माथिल्लो क्लास चढ्न सकिनँ। एउटा न एउटा विषयमा फेल भई नै राख्थेँ।

कक्षा ६ मा त पास गर्न सक्दिनँ भनेर पढाइ छोडेको थिएँ। के गरी दोहोर्‍याएर स्कुल गएछु। पास हुन्छु भन्ने लागेको थिएन तैपनि के कसो गरी माथिल्लो कक्षामा उक्लिएछु।

उदयपुर जिल्लाको तत्कालीन बर्रे गाउँ पञ्चायत वडा-२, हाल उदयपुरगढी गाउँपालिका वडा-२ तल्लो बर्रे म जन्मेँहुर्केको ठाउँ हो। आमाबुबाका ११ सन्तानमध्ये म छैटौँ हुँ।

मेरा दाजुले स्नातकसम्म पढ्नुभयो। चार दिदीले पटक्कै पढ्न पाएनन्। मपछिका सबै भाइबहिनीले चाहिँ राम्रै पढेका छन्। त्यतिखेर विद्यालय टाढा थियो। स्कुल आउजाउ गर्न निकै गाह्रो हुन्थ्यो। तैपनि शिक्षाका लागि संघर्ष जारी थियो।

२०४७ मा एसएलसी परीक्षामा उत्तीर्ण हुनेहरूको संख्या अरू वर्षको तुलनामा निकै बढी थियो। हाम्रो विद्यालयमा पनि अरू सालको तुलनामा धेरैजना साथी पास भएका थिए। तर धेरै पास हुनेको सूचीमा मेरो नाम थिएन। म फेल भएको थिएँ।

अर्थशास्त्र विषय लागेको थियो। अरू विषयमा पनि कसरी पास भएँ थाहा छैन। अंग्रेजी र गणित त झनै जान्दैन थिएँ। ती विषयमा कसरी पास भए हुँला भनेर सोच्दा अहिले पनि अचम्म लाग्छ। त्यतिखेर त लाग्ने नै भयो।

साथीहरू पास र म फेल हुँदा मनमा चोट पर्‍यो। सबै जना अबिर दलेर खुसियालीमा भोजभतेर गरिरहेका थिए। म भने दुःखी र एक्लो थिएँ। वैराग्य लाग्यो। बेकामे रहेछु जस्तो लाग्यो। सबैले हेपे जस्तो लाग्यो।

फेल भएको रनाहामा घर नफर्की मामाघर गएँ। मावली हजुरबुबाले मलाई अति माया गर्नुहुन्थ्यो। म फेल भएर रन्थनिएको थाहा पाएपछि ८४ वर्षीय हजुरबुबाले ढाडस दिँदै भन्नुभएको थियो- ‘हे नाथे, के पिर गर्छस् पढ्ने मान्छे त हो नि फेल हुने, अब म फेल हुँदिनँ क्या रे! उमेर गाको छैन, अर्को साल राम्रो गर्छस्, चिन्ता नगर। असफलता नै सफलताको चिह्न हो।’

हजुरबाका कुरा सुनेर ‘मैले आफ्नो लागि आफैँ केही गरिनँ भने कसैले पनि केही गर्नेवाला छैन’ भन्ने कुरा दिमागमा छिर्‍यो। अब म पढ्छु र केही गर्छु भन्ने लाग्यो।

त्यसपछि आफूलाई चिन्ने र आत्मबल बलियो बनाउने कोसिस गरेँ। जुन विषयमा फेल भएँ, पछि त्यही विषयलाई शक्तिमा बदल्ने प्रयास गरेँ। त्यतिखेर मलाई १ देखि १०० सम्म, कदेखि ज्ञसम्म र एबीसीडी मात्रै आउँथ्यो। सामान्य जोडघटाउ, गुणनभाग पनि राम्रोसँग आउँदैनथ्यो।

हरेस खाइनँ। पढ्ने अठोट गरेँ। आँट त गरेँ तर आफूलाई केही आउँदैनथ्यो। कहाँबाट सुरु गर्ने रनभुल्लमा परेँ।

पढ्नबाहेक कमाउनका लागि नभई घरका काम गर्थें। खेती गर्थेँ, नयाँ घरका लागि काठ काट्थेँ। यहीँबाट सुरुवात गर्छु भन्ने लाग्यो। तर यसै काम गरेर केही पैसा बचाएँ। अनि किताबपसलमा पुगेँ। ६० दिनमा अंग्रेजी फररर बोल्न जानिने किताब देखेँ, ‘न्यु रेपिडेक्स इंग्लिस स्पिकिङ कोर्स’। त्यो किनेँ र अभ्यास गर्न थालेँ। नयाँनयाँ शब्द सिक्न थालेँ।

बिस्तारै कक्षा ६ देखि १० सम्मको अंग्रेजी, गणित, विज्ञान विषयका गाइड र डिक्स्नरी किनेँ। जोशका साथ पढ्न थालेँ। भन्छन्, जे काम पनि निरन्तर गरिरह्यो भने त्यसको बानी बन्छ। मेरो हकमा पनि त्यस्तै भयो। पढ्दै जाँदा पढ्ने बानी बस्न थाल्यो। पछि जुन किताब भेट्यो, जस्तो किताब भेट्यो पढ्न थालेँ।

पहिले पढ्न मन नलाग्ने, पढेको दिमागमै न छिर्ने बानी पनि बिस्तारै हट्दै गयो। पछि त एकैपटक पढ्दा पनि दिमागमा घुसिहाल्न थाल्यो। पढ्दा घोकेर घोट्टिएर होइन, मज्जा लिएर पढ्नुपर्ने रहेछ भन्ने बुझेँ।

एकोहोरो पढ्नु पनि हुँदैन, बीचबीचमा आराम गर्दै, फरकफरक प्रसंगका विषय जोडेर पढ्दा बढी प्रभावकारी हुने रहेछ। र आफ्नो पढाइका निम्ति अरूमा पटक्कै भर पर्नु हुँदैन।

एकदमै गाह्रो भयो, बुझ्नै सकिएन भने अरूको सहयोग लिन सकिन्छ। तर पढ्नचाहिँ आफ्नै तरिकाले पढ्नुपर्छ। अरूको तरिकाले आफ्नो दिमागमा कुनै पनि कुरा थोपर्नु हुँदैन।

घोक्नैपर्ने अवस्था आयो भने सीधै घोक्नुभन्दा कुनै फरक कथा, पात्र वा सूत्र जोडेर पढ्दा सजिलै र दिगो रूपमा सम्झिन सकिने रहेछ। मैले पनि त्यस्तै गरेँ। एक वर्षपछि फेरि परीक्षा दिएँ र एसएलसीमा पास भएँ।

मेरो दाजु त्यसताका काठमाडौँमा जागिर गर्नुहुन्थ्यो। म नि राजधानी छिरेँ। कानुन पढ्न मन लागेको थियो, नेपाल ल क्याम्पसमा भर्ना हुन खोजेँ तर नम्बर अति कम भएकोले पढ्न पाइनँ। रत्नराज्यलक्ष्मी क्याम्पस ९आरआर० मा मानविकी संकायमा फाराम भरेँ।

कम नम्बरका कारण त्यहाँ पनि भर्ना पाउन गाह्रो भयो। बल्लतल्ल भर्ना पाउन सकेँ। त्यतिखेर अहिलेजस्तो निजी कलेज थिएनन्। कलेज पढ्न पनि सजिलो थिएन। मेरा लागि त झनै सजिलो भएन। महाभारतै भयो।

आरआरमा दिवा र रात्रि गरेर दुई सिफ्टमा कुल २४ सय विद्यार्थी थिए। तीमध्ये सबैभन्दा कमजोर म आफूलाई ठान्थेँ। साथीहरू प्रायः एसएलसीमा डिस्टिङ्सन, प्रथम, द्वितीय श्रेणीमा उतीर्ण भएर आएका थिए। तेस्रो श्रेणीको म नै थिए हुँला।

त्यसपछि नियमित क्याम्पस धाउन थालेँ, कक्षामा ध्यान दिएर सुन्थेँ, शिक्षकले पढाएको सबै बुझ्ने प्रयास गर्थेँ। कहिले बुझ्थेँ कहिले बुझ्दिनथेँ। नबुझेको कुरा कोठामा फेरि अभ्यास गर्थेँ।

आईए प्रथम वर्षको परीक्षा आयो। खूब मेहनत गरेँ, परीक्षा दिएँ। छ महिनापछि नतिजा आयो। २४ सय विद्यार्थीमध्ये दुई हजारजति परीक्षामा सामेल भएका थिए। जम्मा ९३ जना पास भए।

धुरन्धर साथीहरूका बीचमा पास हुनेमा म के परेँ हुँलारु भन्ने लाग्यो। मनले मानेन। नतिजा हेर्न गएँ। त्यतिखेर परीक्षा नियन्त्रण कार्यालय जमलमा थियो। त्यहाँ पास हुनेको सिम्बोल नम्बर टाँसिएको थियो। आफ्नो प्रवेशपत्र र झिनो आशा लिएर परीक्षा नियन्त्रण कार्यालय गएँ। त्यहाँको भित्तामा आफ्नो सिम्बोल नम्बर खोज्न थालेँ। नभन्दै मेरे सिम्बोल नम्बर फ्याट्टै भेट्टाएँ।

खुसीले झन्डै ढलिनँ। त्यस दिनदेखि मेहनतमा पूर्ण विश्वास भयो। मेहनत गरेपछि सफल भइनेरहेछ भन्ने लाग्यो। त्यहाँदेखि मैले आफूलाई कहिल्यै अरूभन्दा कमजोर ठानिनँ।

आईए पास गरेँ। बीए पास गरेँ। नेपाल टेलिकममा जागिर खुल्यो। खुला प्रतिस्पर्धामा नाम निकालेँ। जागिर पनि गरेँ। एसएलसीमा अर्थशास्त्रमा फेल भएको थिएँ। पछि म्याथम्याटिकल इकोनोमिक्स मेजर लिएर त्रिभुवन विश्वविद्यालयबाट एमए अर्थशास्त्र प्रथम श्रेणीमा उत्तीर्ण गरेँ। फिनल्यान्डबाट एमबीए पनि गरेँ। अहिले तुर्कु युनिभर्सिटी फिनल्यान्डबाट पीएचडी गर्दैछु।

अहिले लाग्छ, म संसारको जुनसुकै प्रतिस्पर्धामा पनि भाग लिन सक्ने भएको छु। संसारमा कुनै पनि मानिस कमजोर हुँदैन भन्ने कुराको प्रमाण दिन आफ्नो कथा सुनाएको हुँ। छिट्टै पीएचडी सकेर नेपाल फर्किनेछु र देशको सेवा गर्नेछु।

जीवनमा कहिल्यै हरेस खानु हुँदैन। मेहनत गर्न कहिल्यै छोड्नु हुँदैन। आत्मबलभन्दा ठूलो सम्पत्ति केही हुँदैन भन्ने मेरो अनुभव छ।

हरेक मानिसमा केहीनकेही क्षमता र विशेषता हुन्छ। त्यसको पहिचान ऊ आफैँले गर्नुपर्छ। आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ। रुचि भएको विषयमा दक्षता हासिल गर्ने प्रयास गर्नुपर्छ। यसो गर्दा सफलता अवश्य हात लाग्नेछ।

अर्काइभबाट

प्रकाशित: २१ असार २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =