मिटरब्याज सम्बन्धी विधेयक पारित हुन नसक्दा गृहमन्त्री आहत

हिमाल प्रेस २० असार २०८० २३:१४
10
SHARES
मिटरब्याज सम्बन्धी विधेयक पारित हुन नसक्दा गृहमन्त्री आहत

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुन नसक्दा आफू आहत भएको जनाएका छन्। गृहमन्त्री श्रेष्ठले बुधबार राति सामाजिक सञ्चालमार्फत यस्तो दुःखेसो पोखेका हुन्।

उनले लेखेका छन्, ‘आज म धेरै आहत भएको छु। आज प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्यो। तर गरिएन।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर बुधबार प्रमुख प्रतिपक्षी एमाले लगायतका दलले संसद् अवरुद्ध गर्दा विधेयक पारित हुन सकेन।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतीय सहयोगमा आफू प्रधानमन्त्री बनेको आशयको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर एमाले लगायतका प्रतिपक्षी दल विरोधमा उत्रिँदा संसद्को बुधबारको कार्यसूचीमा अवरोध भएको थियो।

बुधबार देखि नै यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ। गृहमन्त्रीले विधेयक पारित गर्न नदिएबाट पीडित जनताकापक्षमा छ र को विपक्षमा छ भन्ने पनि स्पष्ट भएको जनाएका छन्।

उनले भनेका छन्, ‘तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ। पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठुलो भ्रम हो।’ श्रेष्ठले पीडितलाई न्याय नदिलाई विश्राम नलिइने पनि प्रतिबद्धता जनाएका छन्।

‘आयोगले काम जारी राख्नेछ। प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढ्नेछ’, उनले भनेका छन्।

विधेयक संसद्को प्रक्रियामा रहेकाले त्यसलाई अघि बढाएर कानुन बनाइछाडिने पनि उनले स्पष्ट पारेका छन्। पीडितहरुलाई निराश नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपिल गरेका छन्। उनले भनेका छन्, ‘न्याय र विजय सुनिश्चित छ।’

प्रकाशित: २० असार २०८० २३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =