विश्वप्रकाश शर्मा भन्छन् : प्रधानमन्त्रीको अभिव्यक्ति गलत छ, उहाँले संसद्‌को मर्यादा भुल्नुभयो

हिमाल प्रेस २० असार २०८० १९:५५
42
SHARES
विश्वप्रकाश शर्मा भन्छन् : प्रधानमन्त्रीको अभिव्यक्ति गलत छ, उहाँले संसद्‌को मर्यादा भुल्नुभयो फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसको धारणा स्पष्ट रहेको पनि बताए। ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन,’ शर्माले भने, ‘उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ।’

त्यस्तै प्रधानमन्त्रीले संसद्‌को मर्यादा भुलेको पनि शर्माको आरोप छ। ‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो। तर पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटक मध्ये दुई पटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो,’ शर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसद्काप्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ।’

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंहले मेहनत गरेको भन्दै मंगलबार विवादास्पद अभिव्यक्ति दिएपछि बुधबारको संसद्‍ बैठकमा उनको राजीनामा माग्दै विरोध भएको थियो। सोही विषयलाई लिएर संघीय संसद्‌का दुवै सदन अवरुद्ध भए बैठक स्थगित भयो।

आजको संसद् बैठक अवरुद्ध हुँदा मिटरब्याजसम्बन्धी अध्यादेश पनि निष्क्रिय हुन पुगेको छ।

प्रकाशित: २० असार २०८० १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =