सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो हुँदैन : गृहमन्त्री

हिमाल प्रेस १९ असार २०८० १९:०२
10
SHARES
सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो हुँदैन : गृहमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताएका छन्।

गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी १० दिने तालिमको समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले सरसफाइ मानवीय जीवनको महत्त्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताए।

‘सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो,’ उनले भने।

नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी उक्त तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक व्यक्तिले धेरै थोरै जति भए पनि शारीरिक श्रम गर्नुपर्ने सुझाव दिए।

समापन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाएको सरसफाइसम्बन्धी शुभकामना सन्देश पढेर सुनाइएको थियो। गृह मन्त्रालयद्वारा सञ्चालित यस तालिममा यस मन्त्रालयका ५६ जना सफाइकर्मीको सहभागिता थियो।

प्रकाशित: १९ असार २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =