टिप्पणी

महामन्त्रीज्यू! पार्टी बिगारेको चाहिँ जिम्मेवारी लिनु पर्दैन?

माधवप्रसाद नेपाल १८ असार २०८० २०:०२
442
SHARES
महामन्त्रीज्यू! पार्टी बिगारेको चाहिँ जिम्मेवारी लिनु पर्दैन?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लोपटक दिएका तीन अभिव्यक्ति चर्चामा छन्। पहिलो- कांग्रेस बदल्न महामन्त्री त्याग गर्न आफू तयार रहेको घोषणा, दोस्रो प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य बन्न नपाउने प्रस्ताव र तेस्रो राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्ने अवस्था अन्त्य गर्ने प्रस्ताव।

पहिलो र दोस्रो अभिव्यक्ति पार्टी सुधार र तेस्रो विश्वविद्यालय सुधारसँग सम्बन्धित छ। गगनका यी भनाइ विरोधाभासपूर्ण छन्। किनभने उनी आफैँ निर्वाचित महामन्त्री हुन्, पार्टीमा थुप्रिएका विकृति हटाउनुपर्ने जिम्मेवारी उनकै हो। यसबाट के प्रश्न उठ्छ भने कि उनले पार्टीको विधान अध्ययन गर्ने फुर्सद पाएका छैनन् या त उनी आवेगमा यस्ता कुरा गर्दैछन्।

पञ्चायतकालदेखि नै पार्टीलाई चलायमान बनाउन प्राध्यापक र शिक्षकको ठूलो भूमिका छ। कांग्रेसमा मात्रै होइन, अन्य दलमा पनि यस्तै अवस्था छ। पछिल्ला दिनमा दल निकट प्राध्यापक र शिक्षकले नै शिक्षण संस्थालाई विकृतिको डंगुरमा परिणत गरिदिएका छन्। विश्वविद्यालय सुधारका लागि महामन्त्री थापाको चिन्ता स्वाभाविकै हो।

राजनीतिक कारणले विश्वविद्यालय ओरालो लागेको कुरा स्वयं महामन्त्री थापाले स्वीकार गरेका छन्। उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘विश्वविद्यालय बिग्रनुमा सबैभन्दा ठूलो दोष हामीले नै लिनुपर्छ। हाम्रो कारणले गर्दा विश्वविद्यालय थला परेको छ।’ तर कार्यक्रममा कार्यकर्ताको ताली पाउन मात्रै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् भने त्यस्तो बोलीको कुनै तुक छैन।

विश्वविद्यालयमा राजनीति घुस्नुमा कांग्रेस र अन्य दल मात्रै होइन, स्वयं महामन्त्री थापा पनि जिम्मेवार छन्। उनी विद्यार्थी राजनीतिमा संलग्न हुँदामात्रै होइन, पार्टी राजनीतिमा आएपछि पनि कांग्रेस नेताका कारण विश्वविद्यालयको अवस्था खस्किँदै गएको विषयमा आफैँ साक्षी छन्।

परीक्षा नियन्त्रक, उपकुलपति, शिक्षाध्यक्षजस्ता पदाधिकारी राजनीतिक दलनिकट व्यक्ति नियुक्त हुनु विश्वविद्यालयको नियति नै बनेको छ। प्राध्यापक, कर्मचारी नियुक्तिमा भागबन्डा हुन्छ। दलको संरक्षणमा रहेका विद्यार्थी नेताहरूले परीक्षा बलजफ्ती गर्ने, अर्को व्यक्तिलाई लेख्न लगाउने, क्याम्पस प्रशासनलाई दबाबमा राख्ने जस्ता हर्कत कायमै छन्। जुन कुरा महामन्त्री गगन आफैँ भुक्तभोगी छन्।

दलको कोटाबाट नियुक्त भएका व्यक्ति पदीय दायित्वभन्दा दलप्रति जिम्मेवार हुनु स्वाभाविकै हो। त्यसैले विश्वविद्यालयहरू ओरालो यात्रामा छन्। साेही कारण विद्यार्थी स्वदेशका विश्वविद्यालयमा पढ्न छाडेर विदेशतर्फ आकर्षित भइरहेका छन्। तर पनि विश्वविद्यालयको शैक्षिक सुधारतर्फ दलहरूको ध्यान गएको छैन। सहायक क्याम्पस प्रमुख नियुक्ति पनि राजनीतिक भागबन्डामा हुँदै आएको छ।

अब प्रसंग राजनीतितिर, राजनीतिमा महामन्त्री थापा भाषणमा बढी व्यस्त छन्। त्यसो त थापा भाषणकै कारण उदाएका नेता हुन्। तर ६० को दशकको भाषण अब पुरानो भइसकेको उनले बुझ्नु पर्दैन? के बोल्दा लोकप्रिय भइन्छ त्यही बोलिदिने गगनको पुरानै शैली हो। यस्तै अभिव्यक्तिका कारण भोकाएको सिंह शैलीमा बोल्ने गगनका विचार बिस्तारै मत्थर हुन थालेका छन् वा ओझेलमा परेका छन्।

महामन्त्री थापाबाट लोकप्रियतावाद पछ्याउन छाडिएको छैन। लोकप्रिय बन्नकै लागि पार्टीभित्र थापा नेतृत्वको कडा आलोचनामा उत्रिएका छन्। क्षणिक आवेगमा प्रस्तुत भएर प्रशंसा बटुल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिमा उदाइसकेको हेक्का गगनले लिनु पर्दैन?

महामन्त्री थापाको विरोध सभापति शेरबहादुर देउवा लक्षित छ। थापाले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवालाई लक्षित गर्दै भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको छ।’

प्रश्न उठ्छ, उनी आफैँ भोट हाल्न र समर्थन गर्न जाने, पार्टीभित्रको बैठकमा विरोध गर्न नसक्ने अनि बाहिर किन आलोचना गर्ने? लोकतान्त्रिक विधि त महामन्त्री थापाले पनि मान्नुपर्छ।

यहाँ गिरिजाप्रसाद कोइरालाको सन्दर्भ जोडौँ, कोइरालाले महामन्त्रीबाट पार्टी राजनीतिमा कसरी फड्को मारे भन्ने कुरा नेपाली राजनीतिबारे चासो राख्ने जोकोहीलाई थाहा छ। तर कोइरालाले नेतृत्वको कहिल्यै आलोचना गर्नुपरेन। उनले संगठन निर्माणको काम गरे, भित्रभित्रै राजनीति गरे, कार्यकर्ताको मन जिते। परिणामस्वरूप २०४६ सालको आन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले नै कोइरालालाई अघि सार्नुपर्ने अवस्था आएको थियो।

गगन र गिरिजाप्रसादको तुलना त हुन नसक्ला तर गिरिजाप्रसादको समयभन्दा अहिलेको समाज धेरै अघि बढिसकेको छ। महामन्त्री थापाले बुझ्नुपर्छ- सामाजिक सञ्जालमा लेखेर प्रशंसा पाउँदैमा पार्टी संगठन बलियो हुँदैन।

थापा जतिको संगठनकर्ताले अब एकोहोराे कराएर मात्र संगठन बन्दैन। संगठन बनाउन मिहिनेत गर्नुपर्छ। साथै आफ्नो समूहका केहीलाई पदमा लैजान सभापतिसँग बार्गेनिङ गर्न छाड्नुपर्छ। सीमित गुटमा बसेर भित्रभित्र बार्गेनिङ गर्ने अनि केही नभएपछि बाहिर आएर विरोध गर्ने भनेर कार्यकर्ताले गगनको व्यवहारलाई च्याँखे थाप्ने दलका नेताको भाषासँग दाँज्न थालेका छन्।

थापा आफू महामन्त्री भन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न मजा आउने भन्दै कांग्रेस पार्टीभित्र रहेको विकृतिविरुद्ध पोखिएका छन्। उनले भनेका छन्, ‘मैले पटकपटक भनेको छु- दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ।’ त्यसो हो भने उनलाई राजीनामा दिएर पार्टी शुद्धीकरणमा लाग्न कसले रोकेको छ? पार्टीको महामन्त्री छोड्छु भन्नु र निर्वाचनका समयमा आफूले त स्वर्णिम वाग्लेका लागि काठमाडौँ ४ नै छोड्न लागेको भनेजस्तै हो। यस्ता कुरा गर्दा जनता र समर्थकले कस्तो मूल्यांकन गरिरहेका छन् भन्ने कुरा हेक्का राख्न आवश्यक छ।

पार्टीमा रहेको विकृतिविरुद्ध आवाज उठाउँदा महामन्त्री थापाले आफू महामन्त्री भएको भने भुलेका छन्। नेतृत्व र पार्टीको आलोचना गर्दा त्यसको केही हिस्सा त उनी आफैँ पनि हुन् नि। २०७८ पुसमा महामन्त्री भएपछि महामन्त्रीको हैसियतमा थापाले पार्टी सुधारका दिशामा कुनै उल्लेखनीय काम गरेको सार्वजनिक जानकारी छैन। पार्टीका विभाग गठन र भ्रातृ संगठनमा मनोनयनमा थापालाई सभापति देउवाले ओझेलमा पारेका छन्। त्यसबारे उनले कुनै बैठकमा खरो रूपमा प्रस्तुत हुन नसकेको स्वयं उनका समकक्षी बताउँछन्।

भ्रातृ संगठन लथालिंग हुनु र विभागले पूर्णता नपाउनु कांग्रेसको पुरानै रोग हो। जुन रोगको निदानमा थापा चुकेका छन्। महामन्त्रीले धेरै काम गर्न सक्छन् तर किन उनी काम नगर्ने अनि नेतृत्वलाई मात्र दोष दिने गरिरहेका छन् भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। गत मंसिरको निर्वाचनमा नयाँ दल उदाएपछि कांग्रेसमा सबैभन्दा बढी तनावमा महामन्त्री थापा देखिएको नेताहरू बताउँछन्। सोही कारण उनी अस्थिर हुन थालेको धेरैको बुझाइ छ।

पार्टी संगठन बिगारेकोमा चाहिँ उनले आत्मालोचना गरेको पाइँदैन। र, उनी एउटा कोटरीबाट बाहिर निस्केको पनि पाइँदैन। त्यो कोटरीको शैली र प्रभाव केहो भन्ने बुझ्न उनले ढिलाइ गरिरहेका छन्। सीमित घेरमा रहँदा नेकपा कालमा अध्यक्ष केपी शर्मा ओलीको कुन अवस्था भयो भन्ने बुझेका भए थापा किन सानो समूहमा रमाउँछन्? लेखपढ र अन्य बहसमा किन ध्यान दिँदैनन्? त्यो रहस्यमय बन्दै गएको छ।

मिसन ८४ को त्रास

यति बेला कांग्रेसभित्रभन्दा थापालाई अन्य दलले ‘क्लिन स्विप’ गर्ने चिन्ता छ। त्यो हो एक वर्षअघि गठित राष्ट्रिय स्वतन्त्र पार्टी। रास्वपाले मिसन ८४ अघि सारेको छ। २०८४ सालमा हुने निर्वाचनमा जसरी पनि प्रमुख दल बन्ने अभियानमा रास्वपा छ। रास्वपाका सांसदहरूको संसद्‌मा बलियो उपस्थिति देखिन्छ। कानुन निर्माण र जनजीविकाका विषयमा रास्वपा सांसदहरूले उठाएका आवाजको प्रायः प्रशंसा हुँदै आएको छ। २०७४ सालपछि गगनले संसद्‌मा निर्वाह गरेको भूमिका अहिले रास्वपाका सांसदहरूले लिइरहेका छन्। तर संसद्‌मा गगनको उपस्थिति फितलो हुँदै गएको छ।

सोही कारण अर्को चुनावसम्म कांग्रेसको हैसियत के होला भन्ने चिन्ता र डरमा महामन्त्री थापा छन्। उनी आफैँलाई प्रत्यक्ष निर्वाचनमा के भइएला भन्ने चिन्ता पनि छ। काठमाडौँमा बालेनको उदय गगनका लागि अर्को टाउको दुखाइको विषय हो। सामाजिक सञ्जालमा रास्वपा र बालेनको प्रशंसा हुन थालेपछि महामन्त्री थापा बिस्तारै किनारामा परेका छन्। त्यसलाई चिर्ने कसरत उनीबाट भएको पाइँदैन।

कुनै बेला राप्रपा अध्यक्ष कमल थापाका एक निकटस्थले उनको राजनीतिक ओरालोबारे टिप्पणी गरेका थिए, ‘पहिला कमल थापा चर्का बोल्थे पछि उनको क्षेत्रमा उनी भन्दा चर्का बोल्ने विरोध खतिवडाजस्ता मानिस आए अनि उनी पाखा लागे।’ कतै यही कुराले गगनलाई सताइरहेको त छैन? सताएको छ भने उनी काग्रेस जीवन्त बनाउन थप सक्रिय हुनुपर्छ।

पार्टीमा थापाको पक्षमा को?

पार्टी राजनीतिमा गुट परिवर्तन गरिरहनु महामन्त्री थापाको विशेषता हो। तेह्रौँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहमा रहेका थापा चौधौँ महाधिवेशनमा आइपुग्दा डा. शेखर कोइराला समूहमा पुगेका थिए। महामन्त्री बनेपछि उनी शेखरसँग पनि टाढिँदै गएका छन्। शेखरसँगको सहकार्य बाध्यता र स्वार्थका लागि थियो भन्ने प्रमाणित भइसकेको छ।

यति बेला डा. शेखर र पार्टी सभापति शेरबहादुर देउवासँगै रहेको अनुभूति उनले गरिरहेका छन्। नेपाली कांग्रेसमा युवा चाहिन्छ भन्ने धेरै छन् तर गगनको पुस्तालाई नेतृत्व दिनुपर्छ भन्नेमा कांग्रेस पार्टीभित्रको लाइन बलियो देखिँदैन। त्यही कारण पनि उनी कसरी पार्टी नेतृत्वमा पुग्छन्, चासोको विषय छ।

यस्तो अवस्थामा पार्टीभित्र शक्ति आर्जन गर्ने एउटै उपायका रूपमा गगनले नेतृत्वको विरोध र आलोचना गर्न थालेका भनेर टिप्पणी गर्न थालिएको छ। गगनले त्यस्तो त्यो विरोध र आलोचना गरिरहँदा के आमकांग्रेसलाई शेरबहादुरबारे जानकारी छैन? यसतर्फ सोचेर आफूलाई माझ्न र कमीकमजोरी सच्याउन गगन तयार हुनुपर्छ। नेतृत्वको आलोचना गरिरहँदा आफैँसामु तेर्सिने प्रश्न हो, ‘महामन्त्रीज्यू! पार्टी बिगारेकोमा चाहिँ तपाईँले पनि जिम्मेवारी लिनु पर्दैन?’

प्रकाशित: १८ असार २०८० २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =