बजेटले सत्तापक्ष-प्रतिपक्षीबीच फाटो ल्याएको एमाले गण्डकीको आरोप

हिमाल प्रेस १८ असार २०८० ११:५८
4
SHARES
बजेटले सत्तापक्ष-प्रतिपक्षीबीच फाटो ल्याएको एमाले गण्डकीको आरोप

पोखरा– नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच फाटो ल्याउने काम गरेको बताएका छन्।

प्रदेशसभामा जारी आगामी आव ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको उनको भनाइ छ।

‘बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ,’ उनले भने, ‘आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ।’

मन्त्रीहरूले आफूनिकट प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढंगले बजेट बाँडेको उनले आरोप लगाए।

‘पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउको योजना जस्ताको तस्तै परेको छ,’ नेपालीले प्रश्न गरे, ‘योजना छनोटको मापदण्ड के हो?’

उनले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने बताए।

अघिल्ला सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उनको भनाइ छ।

भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताए।

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे।

प्रकाशित: १८ असार २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =