भारतमा लोकतन्त्रवादीको चाहना

२०२४ मा कुनै पनि दलले बहुमत नल्याओस्

रामचन्द्र गुहा १८ असार २०८० ११:४६
62
SHARES
२०२४ मा कुनै पनि दलले बहुमत नल्याओस् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

सन् २००९ को आमचुनावभन्दा केही महिनाअघि दिल्लीबाट प्रकाशित एक पत्रिकामा भारतीय लोकतान्त्रिक प्रक्रियालाई पुनर्जीवित गर्न मैले चारवटा चाहना व्यक्त गरेको थिएँ।

पहिलो, कांग्रेस जो परिवारवादबाट पूर्णतया मुक्त होस्। दोस्रोमा आफूलाई राष्ट्रिय स्वयंसेवक संघ र हिन्दू राष्ट्रको विचारबाट टाढा राख्ने भारतीय जनता पार्टीको कामना गरेँ। एकजुट र सुधार उन्मुख वामपन्थीको चाहना तेस्रो थियो। जसले हिंसालाई पूर्ण रूपमा त्याग्न सकोस्। अन्तमा मध्यम वर्गको आकांक्षामा आधारित नयाँ पार्टी निर्माण होस् भन्ने थियो। जसले जाति वा धर्मको भेदभाव नगरी सबैको स्वागत गरोस्। सबैका लागि खुला होस्।

१४ वर्ष र तीन आमचुनावपछि मैले उतिखेर जाहेर गरेका इच्छा प्राप्त भए/भएनन् वा प्राप्तिबाट कति टाढा छन्? भनेर हेर्न मन लाग्यो। कांग्रेस अध्यक्ष गैर-गान्धी भए पनि पार्टी अझै पनि त्यो परिवारको नियन्त्रणमा छ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे छन्। दलित समुदायका खड्गेले ‘भारत जोडो यात्रा’ का क्रममा राहुल गान्धी भारतको अर्को प्रधानमन्त्री हुनुपर्छ भने। सामाजिक सञ्जालमा ‘राहुल फर पीएम’ ह्यान्डल बन्यो। कर्नाटकको विधानसभा चुनावमा कांग्रेसको जितपछि गान्धी थप सक्रिय भए। निःसन्देह पार्टीभित्र केही असहमतिका आवाज पनि छन्। तिनले कहिलेकाहीँ प्रधानमन्त्रीका लागि वैकल्पिक उम्मेदवारका रूपमा राहुलकी बहिनी प्रियंका गान्धीलाई प्रस्ताव गर्ने गर्छन्।

बीजेपी राष्ट्रिय स्वयंसेवक संघ र हिन्दुत्वबाट टाढिनुभन्दा झन् नजिकिएको छ। लोकसभामा यसका तीन सय सांसद छन्। तीमध्ये कुनै पनि मुस्लिम नभएको तथ्यले अल्पसंख्यक विशेष गरी मुस्लिम समुदायप्रति बीजेपीको दोस्रो दर्जाको व्यवहार छर्लंगै छ। भारतमा अहिले मुस्लिमलाई समान नागरिकका रूपमा हेरिँदैन। शिक्षण संस्थाका पाठ्यपुस्तक पुनर्लेखन भइरहेका छन्। नयाँ शैक्षिक पाठ्यक्रमको रूपरेखा सत्तारुढ दलको इच्छाअनुरूप तयार पारिएको छ।

सन् १९९८ देखि २००४ सम्म चलेको बीजेपी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको शासनकालमा पनि सरकारका नीति तथा कार्यक्रम हिन्दुत्वको प्रभावबाट मुक्त थिएन। यद्यपि यी प्रभाव तुलनात्मक रूपमा गौण थिए। तर सन् २०१४ मा सत्तामा आएदेखि पार्टी यसबारे स्पष्ट छ। त्यस्तै बीजेपी ‘एक व्यक्ति केन्द्रित’ राजनीतितिर बढ्दै गएको छ। पार्टीको राजनीति एकजनाकै वरिपरि घुमिरहेको छ। ती हुन्, प्रधानमन्त्री नरेन्द्र मोदी।

विगतमा कांग्रेसको अवस्था पनि यही थियो। पूरै कांग्रेस इन्दिरा गान्धी वरिपरि केन्द्रित थियो। जे होस् कांग्रेसले त्यो सोच त्यागेको छ। तर बीजेपीमा भने दोहोरिँदै छ। सांसद र मन्त्रीहरू प्रधानमन्त्री मोदीको प्रशंसा गर्न तँछाडमछाड गरिरहेका हुन्छन्।

धार्मिक बहुसंख्यकवाद र व्यक्तिकेन्द्रित राजनीति नयाँ संसद्को उद्घाटन समारोहमा प्रस्टै देखियो। समारोहमा राष्ट्रपति र उपराष्ट्रपति अनुपस्थित थिए। क्याबिनेट मन्त्री पनि कम देखिए। यो कुनै संयोग थिएन। किनकि उद्देश्य एक जनालाई मात्रै देखाउनु थियो। समारोहमा उपस्थित ‘पुजारीहरू’ले यस अवसरमा हिन्दुत्वको महिना मण्डन गरे। हिन्दुत्वलाई मञ्च दिए। पार्टीका सदस्य र संघ परिवारले प्रधानमन्त्रीलाई हिन्दू सम्राट्को हैसियतमा सम्मान दिए।

वामपन्थीहरूले पनि भारतीय राजनीतिमा आशा गरेअनुसार काम गर्न सकेका छैनन्। उनीहरूको काम गर्ने ढाँचा पनि पुरानै छ। भूमिगत भएर बहुदलीय लोकतन्त्रमा शान्ति कायम गर्नुको सट्टा नक्सलवादीहरू आफूले प्रभाव पार्न सक्ने केही जिल्लामा लगातार हिंसा गरिरहन्छन्। तिनले आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्न सकेका छैनन्।

उतिखेरको मेरो चौथो इच्छा पूर्ण रूपमा नयाँ पार्टी निर्माण हुनु थियो। सन् २०१२ मा आम आदमी पार्टी (आप) स्थापना भयो। भारतीय राजनीतिक मञ्चमा आपको आगमनले मेरो इच्छा सैद्धान्तिक रूपमा पूरा भएको छ। यद्यपि व्यवहारमा आपले सोचेअनुरूप काम गरेको छैन।

दिल्लीमा सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा भने यसले काम गरेकै हो। तर पीडित अल्पसंख्यकका पक्षमा बोल्न नसक्नु र अरबिन्द केजरीवालको वरिपरि राजनीति घुम्नु यसका नकारात्मक पक्ष हुन्।

सन् २०२४ को निर्वाचन नजिकिँदै छ। त्यसका लागि एक वर्षभन्दा पनि कम समय छ। निर्वाचनमा पनि मेरो एउटा इच्छा छ। त्यो हो, अबको लोकसभामा कुनै पनि दलको बहुमत नहोस्। मोदी अधिनायकवादी हुनुमा बहुमतले ठूलो भूमिका खेलेको छ। पछिल्ला दुई आमनिर्वाचनमा बीजेपीलाई बहुमतले नै बलियो बनाएको हो। मोदीभन्दा पहिले इन्दिरा गान्धीमा पनि अधिनायकवादी प्रवृत्ति थियो। सन् १९७१ को चुनावमा बहुमत हात पारेकाले उनी अधिनायक बन्न उत्पे्ररित भएकी हुन्।

भारत धेरै ठूलो र विविधताले भरिएको देश हो। यसलाई सहयोग र परामर्शबाहेक अन्य कुनै पनि तरिकाले चलाउन सकिँदैन। तर संसद्मा बहुमत भएकाले सत्तारुढ दलमा अहंकार र घमण्डलाई प्रोत्साहन गर्छ। बहुमतको अहंकारमा प्रधानमन्त्रीमा आफ्ना मन्त्रिपरिषद्का सहकर्मीलाई नियन्त्रण गर्ने, विपक्षीलाई अनादर गर्ने, अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने, संस्थाहरूको स्वायत्ततालाई कमजोर पार्ने, राज्यहरूको अधिकार र हितलाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ।

सन् २०२४ को आमचुनावमा नरेन्द्र मोदी र बीजेपीले लगातार तेस्रोपटक बहुमत प्राप्त गरेमा यसले भारतको लोकतन्त्र, बहुलवाद र संघीयतालाई हानि पुर्‍याउनेछ। विपक्षीहरूलाई थप बेवास्ता गरिनेछ। स्वतन्त्र प्रेसमाथि अरू दमन हुनेछ। अल्पसंख्यकलाई असुरक्षित महसुस गराइनेछ। राज्यहरूले केन्द्रसामु अझै झुक्नुपर्नेछ। यस्तो अवस्थाले अर्थतन्त्रलाई पनि नोक्सान पुर्‍याउन सक्छ।

तसर्थ यो मेरो एक्लैको विनम्र इच्छा हो कि अर्को वर्षको आमचुनावमा ५ सय ४३ सिट भएको सदनमा कुनै पनि दलले २५० भन्दा बढी सिट नपाओस्। कुनै पनि पार्टी बहुमतले नजितोस्। त्यसो भए भारतमा शासन गरिनेछ, बुद्धिमानीपूर्वक नभएर अहंकारी ढंगले। बिना एक पार्टीका, बिना एक व्यक्तिका, जसले जनताका लागि बोल्ने दाबी गरोस्। साहस गरोस्।

(भारतीय इतिहासकार तथा लेखक गुहाको यो आलेख टेलिग्राफ इन इन्डियाबाट भावानुवाद गरिएको हो।)

प्रकाशित: १८ असार २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =