ऐरीको सम्हालिएको ब्याटिङमा यूएईमाथि नेपालको जित

हिमाल प्रेस १७ असार २०८० २०:२७
36
SHARES
ऐरीको सम्हालिएको ब्याटिङमा यूएईमाथि नेपालको जित

काठमाडौँ- आईसीसी विश्वकप छनोट-२०२३ अन्तर्गतको छनोट खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको छ। टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको नेपालले १८२ रनको लक्ष्य पाएकाे थियाे। जवाफी ब्याटिङमा आएकाे नेपालले ४३.२ ओभरमा सात विकेट गुमाएर  लक्ष्य भेट्टाएकाे हाे।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले सम्हालिएको ब्याटिङ गरे। उनलाई सन्दीप लामिछानेले अन्तिमसम्मै साथ दिए। ६३ रन बनाउँदै ६ विकेट गुमाइसकेको नेपाललाई सम्हालेर दीपेन्द्रसिंह ऐरीले जित दिलाए। सातौँ नम्बरमा क्रिजमा आएका दीपेन्द्रले सानदार ब्याटिङ गरे।

दीपेन्द्रले ७ चौका र २ छक्काको मद्दतमा ७९ रन बनाए। सन्दीपले पनि सम्हालिएर खेल्दै २३ रन बनाए। यसअघि गुल्शन झा १२ रन बनाएर आउट भए। गुल्शनसँग मिलेर दीपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ रन बनाए। अर्का ओपनर अर्जुन साउद ५ बलमा १ रन बनाएर आउट भए। लामो समयपछि मौका पाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन मात्र बनाए। कप्तान रोहित पौडेल १५ बलमा ४ रन बनाउँदै आउट भए। भीम सार्की र आरिफ शेख व्यक्तिगत १/१ रनमै आउट भए।

यसअघि हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा यूएईले ४६.५ बल खेल्दै सबै विकेटको क्षतिमा १८१ रन बनाएको थियो। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिएका थिए। नेपालका लागि प्रतिस जिसी, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत १/१ विकेट लिए।

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। त्यसैगरी ओपनर आर्यन शर्माले २८ रन बनाए। यूएईका अन्य ब्याट्सम्यानले दोहोरो अंक पनि बनाउन सकेनन्।

अब नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ। आयरल्यान्ड टेस्ट मान्यता प्राप्त राष्ट्र हाे।

प्रकाशित: १७ असार २०८० २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =