धानको अर्थतन्त्र

जेठोबुढो ‘ब्रान्डिङ’ गर्दै पोखरा महानगर

विजय नेपाल १७ असार २०८० १८:४३
22
SHARES
जेठोबुढो ‘ब्रान्डिङ’ गर्दै पोखरा महानगर पोखरा महानगरपालिका–१३ कसेरीस्थित खेतमा धानको ब्याडमा रोपाहारहरू। तस्बिर : विजय नेपाल

पोखरा- जेठोबुढो धानको भात पोखरेलीको प्रिय भोजन हो। परम्परागत रूपमा उत्पादन हुँदै आएको यो प्रजातिको मुख्य विशेषता हो- बासनादार, नरम, स्वादिलो।  पोखरेली कोसेलीको पहिचान बनाएको जेठोबुढो विदेश बस्ने नेपालीमा माग उच्च छ। त्यसो त टाढा-टाढाबाट यहाँ घुम्न आउनेले पनि खानामा पहिलो माग जेठोबुढो अर्डर गर्छन्।

पोखरामा कुनै-कुनै टारीतिर रैथाने जेठोबुढो भेटिने गरे पनि अचेल फाँटमा यो धान कमै रोपिन्छ। किसान जेठोबुढो रोप्न छाडेर धेरै उत्पादन दिने अन्य प्रजातितर्फ आकर्षित हुन थालेपछि पोखरा महानगरपालिका पहिचान जोगाउन लागिपरेको छ। महानगर जेठोबुढोको ब्रान्डिङ गर्दै कृषकलाई यसमा टिकाइराख्न चाहन्छ।

केही वर्षदेखि जेठोबुढो संरक्षणमा केन्द्रित पोखरा महानगरले यस वर्ष किसानलाई १० टन धानको बिउ वितरण गर्‍यो। ५० प्रतिशत अनुदानमा बिउ पाएपछि किसान पनि खुसी भए। उनीहरूले यो धान रोप्न खेतखेत पस्न थालिसकेका छन्।

महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया भन्छन्, ‘महानगरले जेठोबुढोलाई व्यावसायिक रूपमा विकास गरी पोखराको ब्रान्डिङ गर्न खोजेको छ। त्यसैले यस वर्ष पनि प्रोत्साहन गर्दै महानगरले उत्पादनको बिउ २ सय रुपैयाँमा खरिद गरेर किसानलाई १ सय रुपैयाँ प्रतिकिलो अनुदान दियो।’

प्रस्तुत छ जेठोबुढोको महत्त्व-

गत वर्ष पोखरा लेखनाथका हरिकृष्ण बरालले १० क्विन्टल जेठोबुढो फलाए। उनलाई पोखरा महानगरपालिका कार्यालयसहित कृषिसँग सम्बन्धित विभिन्न संघसंस्थाले जेठोबुढोको बिउ उत्पादनमा प्रोत्साहित गरेका हुन्।

६० वर्षीय बरालले १० क्विन्टल उत्पादन गरी गैरसरकारी संस्था ली-बर्डमार्फत प्रमाणित गरेर बिउका रूपमा अन्य किसानको खेतसम्म पु‍र्‍याए। यसरी स्रोत बिउ प्राप्त गरी आफूजस्तै किसानलाई बिक्रीवितरण गर्न पाउँदा खुसी छन् उनी। बराल भन्छन्, ‘सारा चिज पाइन्छ। असल जिउ र असल बिउ पाइँदैन, बालीनाली मास्नु त भएन। हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू।’

विगतको तुलनामा अहिले बासना कम आउने हाइब्रिड जातको जेठोबुढो देखिन्छ। बासना हराउँदै गएकोमा पोखरेली चिन्तित छन्। जेठोबुढो धानको मूल्य जति महँगो छ, त्योभन्दा महँगो पर्छ यसको उत्पादन लागत। ‘एक बाली धान तयार हुन ६ महिना लाग्छ। अरू धान ८ मुरी फल्ने खेतमा जेठोबुढो ४ मुरीमात्रै उत्पादन हुन्छ।

पोखरा महानगरले तीन वर्षअघि पनि रैथाने बाली पोखरेली जेठोबुढो संरक्षण र ब्रान्डिङ योजना ल्याएको थियो। त्यसबेला महानगरले १ सय १५ केजी यसको बिउ १० विभिन्न कृषक समूह तथा कृषि सहकारीलाई बाँडेको थियो। जेठोबुढोको गुणस्तरीय बिउ उत्पादन गर्ने कामका लागि ली-बर्डसँग मिलेर महानगरले कार्य गर्दै आएको छ। ली-बर्डको सहयोगमा विभिन्न ठाउँबाट धानका ३ सय ५० जात संकलन गरी राम्राराम्रा छानेर सुधारिएको जेठोबुढोको विकास भएको हो।

विगतमा महानगरले केही किसानलाई बिउ उत्पादनमा जोड दिँदै बाँकीलाई उन्नत जातको बिउ वितरण गरी संरक्षण प्रयास थालेको कडरिया बताउँछन्। पोखरा महानगरले ब्रान्डिङ गर्दै न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ९ हजार रुपैयाँ तोकिदिएपछि किसानलाई फाइदा भएको छ। जबकि सरकारले मसिनो धानको मूल्य प्रतिक्विन्टल ३ हजार २ सय मात्र दिने गरेको छ। यसरी केही किसान जेठोबुढो उत्पादनमा आकर्षित हुन थालेका हुन्।

सरकारले २०६३ सालमा जेठोबुढो जात सूचीकृत गरेको थियो। पोखरा क्षेत्रमा ९ सयदेखि १२ सय मिटर उचाइसम्म जेठोबुढो खेती उपयुक्त मानिन्छ। यो धान उत्पादनका लागि पानी अलि बढी चाहिन्छ।

पानी चलिरहने ठाउँमा उत्पादन बढी हुने भए पनि किसानले अन्यत्र लैजान खोज्दा सोचेजस्तो उत्पादन हुन सकेको छैन। पोखराका पामे, ठुलाखेत, लेखनाथ, बिरुवा, आर्वा, बिरौटा, अर्मला, चाउथे, शिशुवा लगायत फाँटमा यसको बढी खेती गरिन्छ।

क्षेत्रफलका हिसाबमा देशकै ठूलो महानगर पोखरामा १ सय ९० दशमलब ५८ वर्ग किमि कृषियोग्य जमिन छ। पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। जेठोबुढो ४ हजार हेक्टर जतिमा हुन्छ।

पोखरामा उत्पादित हुने ३९ हजार टन धान उत्पादनमध्ये १३ हजार टन जेठोबुढोको हिस्सा छ। एक आँकडाअनुसार २० वर्षयता पोखराको खेतीयोग्य जमिन २० देखि ३० हजार रोपनी मासिइसकेको छ।

जग्गा मासिँदा र हाइब्रिड बिउमा किसान आकर्षित हुँदा पोखरा उपत्यकामा बढीजसो रैथाने धानको जात लोप भइसकेका छन्। यहाँबाट करिब ३० हाराहारीमा रैजाने धान लोप भइसकेको अनुमान छ।

पोखरामा सुधारिएको जेठोबुढो, मार्सी, झिनुवा, मनसरा, खुमल, राधा, जर्नेली, बासमती, सुनौलो सुगन्दा, मन्सुली, पहेँले, गुर्दी, अनदीलगायतका प्रजातिको धान बढी रोप्ने चलन छ।

पोखरा-२३ का स्थानीय भानु पराजुली पोखराको धानको महत्त्व बुझेर सरकारले रैथाने धान जोगाई नयाँ धान प्रवर्धनतर्फ लाग्नुपर्ने बताउँछन्।

सहरीकरणले खेतीयोग्य जमिन मासिँदै जानपछि पोखरा महानगरले पानी आउने ठाउँमा चैते धानलाई पनि प्रोत्सहित गरेको छ। एक बालीमा पनि भर पर्नुभन्दा दुई बाली लगाउन सकियो भने किसानलाई राहत हुने र उत्पादन पनि बढ्ने अपेक्षा छ। त्यसका लागि महानगरले चैते धान रोप्ने किसानलाई पनि प्रतिरोपनी ९ सय रुपैयाँ उपलब्ध गराएर प्रोत्साहित गर्दैछ।

हाइब्रिड धान लगाए प्रतिरोपनीमा ६ मुरी फल्दा जेठोबुढो ३ मुरी फल्छ। हिसाब गर्ने हो भने हाइब्रिड धानको ६ मुरीको रकमले जेठोबुढो ३ मुरी पनि आउँदैन। त्यसैले फलफूल तथा तरकारीजस्तै यसलाई पनि व्यावसायिक रूपमा खेती गरे फाइदा पुग्ने पोखरा महानगरले जनाएको छ। यसबाट कृषि पर्यटन प्रवर्धनमा टेवासमेत मिल्ने अनुमान छ।

गण्डकीमा १ लाख ६ हजार हेक्टरमा धानखेती

गण्डकी प्रदेशमा १ लाख ६ हजार १ सय ९० हेक्टरमा धानखेती हुने गरेको छ। प्रदेशमा वार्षिक झण्डै ४ लाख मेट्रिक टन धान उत्पादन हुन्छ। गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अनुसार गत वर्ष ३ लाख ९१ हजार १ सय मेट्रिक टन धान फलेको थियो।

अघिल्लो वर्ष (आव २०७८/७९) ३ लाख ९१ हजार १ सय ८४ मेट्रिक टन धान उत्पादन भएको थियो। गण्डकीमा गत वर्ष १ लाख २ सय ८० हेक्टरमा ३ लाख ६३ हजार ६ सय मेट्रिक टन बर्खे धान उत्पादन भएको थियो। त्यस्तै चैते धान ५ हजार ८ सय ८० हेक्टरमा खेती गरिएकोमा २७ हजार ५ सय मेट्रिक टन फलेको थियो।

गण्डकीमा मुख्य खाद्यान्न बाली मकै, धान, गहुँ, कोदो, फापर हुन्। गत वर्ष गण्डकीमा १ लाख ५० हजार ९ सय ८६ हेक्टरमा ४ लाख ३५ हजार मेट्रिक टन मकै फलेको अनुमान छ।

३६ हजार हेक्टरमा ९७ हजार मेट्रिक टन गहुँ र कोदो ७९ हजार हेक्टरमा ९४ हजार र फापर २ हजार हेक्टरमा २ हजार ९ सय मेट्रिक टन फलेको गण्डकीको कृषि मन्त्रालयले जनाएको छ।

धानमा जोडिएको आर्थिक विकास

प्रकाशित: १७ असार २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast