एक्ला-एक्लै हिँडेर हुँदैन, नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड

हिमाल प्रेस १७ असार २०८० ११:५१
4
SHARES
एक्ला-एक्लै हिँडेर हुँदैन, नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिने अवस्था आएको बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित नेकपा संस्थापक सदस्य नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

०७४ सालमा नेकपा एमाले अध्यक्ष केपी शर्मालाई आफैंले पहल गरेर माओवादी र एमालेलाई एकीकृत गरेर नेकपा निर्माण गरेको उनले दाबी गरे।

‘मेरै पहलमा नै त्यतिबेला नेकपा निर्माण भएको थियो। उक्त पार्टीले जनतामा नयाँ खालको उभार ल्याएको थियो। जनताले हामीलाई दुई तिहाइ मत दिनु भएको थियो। विभिन्न कारणले हामीले त्यसलाई बचाउँन सकिएन। अब फेरि हामी एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘विश्वका अरू देशमा पनि कम्युनिष्ट पार्टीहरूबीच यो खालको एकता, संघर्ष, विघठन र रूपान्तरणका घटनाहरू हुन्छन्।’

नेपालका कम्युनिष्टहरू अब एकताबद्ध भएर देशलाई समाजवादतिर लानुपर्ने अवस्था आएको उनले बताए।

‘एमाले र माओवादी एक ठाउँमा आएपछि परिवर्तन विरोधीहरू आत्तिएका थिए। अब कम्युनिष्टहरूले मुलुक कति वर्ष हाँक्ने हुन् भनेर कतिपय डराएका थिए। अब हामीले पुराना अनुभवलाई मूल्यांकन गरेर, विचार र भावनाका कमजोरी हेरेर फेरि एक ठाउँमा उभिने बेला आएको छ,’ उनले भने।

माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समाजवादी मोर्चामा आइसकेकाले अब यसमा एमाले पनि संगठित हुनुपर्ने प्रचण्डको भनाइ छ।

नायारणविलास जोशीप्रति सम्मान र श्रद्धा प्रकट गर्दै उनले २००६ सालमा नेकपा स्थापना हुँदा पनि विभिन्न वैचारिक संघर्ष देखापरेको उल्लेख गरे।

प्रकाशित: १७ असार २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =