धानको अर्थतन्त्र

धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली

पदमराज भट्ट १७ असार २०८० १२:०९
64
SHARES
धानखेती : तराईमा प्रविधि, पहाडमा पुरानै शैली कैलालीको भजनी–८ कृष्णपुरमा मेसिनको सहायतामा चैते धान काट्दै किसान। कृष्णपुर चैत धानको पकेट क्षेत्र मानिन्छ। तस्बिर : पदमराज भट्ट

डोटीको के आई सिंह गाउँपालिका-६ फलेडीका प्रकाश जोशी झरी परिरहेका बेला एक हल गोरुसहित खेत जोत्न व्यस्त देखिए। छेउमा केही महिलापुरुष ब्याडमा थिए त केही पुरुष कोदाली लिएर बाउसे गरिरहका। अनि रोपाहारहरू धान रोप्न तम्तयार थिए।

डोटीलगायत अधिकांश पहाडी जिल्लामा परम्परागत ढाँचामा धान रोपाइँ हुने गरेको छ। ‘हामी त गोरुबाट खेत जोत्ने गर्छाैँ। हलो, कोदालो र कोदालीको सहायतामा परिवार र छरछिमेकी जम्मा भएर पालैपालो रोपाइँ गर्छौँ,’ जोशीले भने।

सुदूरपश्चिमका पहाडी जिल्लामा पुरानै शैलीमा खेती भइरहेको छ। ‘परम्परागत रूपमा धान रोपाइँ गर्दा उत्पादन घटेको छैन। हामीसँग प्रविधि पनि त छैन’, स्थानीय सीता जोशीले भनिन्।

पहाडमा सबै ठाउँमा सडक पुगेका छैनन्। खेत जोत्ने ट्याक्टर गाउँगाउँ पुर्‍याउन सडक भएमात्रै सजिलो हुन्छ। कैलालीको भजनी नगरपालिका-३ का विक्रम चौधरी डेढ बिघा जग्गामा धानखेती गर्छन्। जनप्रतिनिधिसमेत रहेका चौधरीले खेतमा ट्याक्टरको प्रयोग गर्दै आएका छन्।

‘पाँच वर्षअघिसम्म मैले पनि राँगाबाट खेत जोतेर खेती गर्ने गरेको थिएँ। तर पछिल्ला वर्ष भने ट्याक्टरबाट खेत जोत्ने गरेको छु।’ धान काट्न, झार्न र बोक्न पनि मेसिनको प्रयोग गर्न थालेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘प्रविधि प्रयोगले समयको बचतसँगै खेती गर्न सहज भइरहेको छ,’ चौधरीले भने। तराईमा पनि सबैसँग प्रविधिको पहुँच पुगेको छैन।

विक्रमका छिमेकी मिथुनलाल चौधरी भने राँगाको सहायतामा खेत जोत्दै आएका छन्। ‘घरमा राँगाभैँसी पालेका छौँ। खेती किसानीका बेला प्रयोग नगरे पाल्नुको के अर्थ?’ खेत जोत्न ट्याक्टर प्रयोग गर्दा पैसा तिर्नुपर्ने भएकाले पनि उनी राँगा पालेको बताउँछन्।

‘खेत जोताउँदा तिर्नुपर्ने रकम बचेको छ,’ चौधरीले भने। त्यसो त चौधरीले पनि आवश्यक पर्दा प्रविधिको प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, ‘प्रविधिको प्रयोग नगर्ने हैन फलेको धान थ्रेसरमा हाल्छु, बोक्छु तर खेतीको काम भने म आफैँ गर्छु।’

तराई क्षेत्रमा धान रोप्न र भित्राउन ट्याक्टर, थ्रेसर आदिको प्रयोग बढ्दो छ। यसबाट कोदालो र हलो प्रयोग घट्दै गइरहेको किसानहरू बताउँछन्। प्रविधि प्रयोगले समय बचतसँगै आम्दानी पनि भइरहेको उनीहरूको भनाइ छ।

सुदूरपश्चिम कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले पछिल्ला दिनमा धानखेतीमा ट्याक्टर, प्लाउ (हलो), बिउ रोप्ने मेसिन, ट्रली, धान काट्ने मेसिन, चुट्ने मेसिन प्रयोग हुने थालेको बताए।

डोटीको के आई सिंह गाउँपालिका–६ फलेडीमा खेत जोत्दै किसान। तस्बिर : हिमाल प्रेस

‘पहाडका किसानलाई प्रविधिसँग जोड्ने प्रयास भइरहेको छ। खेती गर्दा लाग्ने किरा नियन्त्रणका लागि विभिन्न उपाय सिकाउन थालेका छौँ’, जोशीले भने। पछिल्लो समय प्रविधिको प्रयोग बढे पनि प्रयोग गर्ने दक्ष जनशक्ति अभाव छ। त्यसैले किसानलाई प्रविधिमैत्री बनाउन कृषि तालिम केन्द्र र जिल्लास्थित कृषि ज्ञान केन्द्रहरूले विभिन्न तालिम प्रदान गर्दै आइरहेको जोशी बताउँछन्।

प्रदेश सरकारले किसान प्रविधिमैत्री बनाउन अनुदानमा विभिन्न कृषि उपकरण प्रदान गरिरहेको छ। कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा ३ लाख ६९ हजार ७९६ हेक्टर जमिन खेतीयोग्य छ। त्यसमध्ये यस वर्ष १ लाख ७५ हजार ७६३ हेक्टरमा धानखेती हुने अनुमान निर्देशनालयको छ। पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझै छन्। तराईमा खेतीयोग्य जमिन घडेरीका रूपमा प्रयोग भइरहेका छन्।

प्रदेशमा ८९ हजार ४९१ हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ। ८० हजार २९४ हेक्टर जमिनमा भने आंशिक सिँचाइ उपलब्ध रहेको निर्देशनालयको तथ्यांक छ।
असार १५ सम्म ३९ हजार ७५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जोशीले जानकारी दिए। प्रदेशका विभिन्न जिल्लामा साउन १५ सम्म धान रोपाइँ हुन्छ। जोशीका अनुसार मौसम अनुकूल भएमा ६ लाख ६० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमा छ।

प्रदेशमा १ लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धानखेती गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको विवरणमा उल्लेख छ। प्रदेशमा सबैभन्दा बढी धानखेती हुने जिल्ला कैलाली र कञ्चनपुर हुन्। कैलालीमा ६७ हजार २९७ हेक्टर क्षेत्रफल र कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धानखेती हुन्छ। कैलालीमा १ लाख ७९ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुन्छ। यस्तै कञ्चनपुरमा १ लाख २३ हजार ६६५ मेट्रिक टन धान उत्पादन हुने गर्छ।

धनगढीस्थित खेतमा ट्याक्टरले जोत्दै किसान। तस्बिर : हिमाल प्रेस

सुदूरपश्चिममा तेस्रो बढी धान खेती हुने जिल्ला अछाम हो। जहाँ १६ हजार ५९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। जिल्लामा ३५ हजार ७८५ मेट्रिक टन धान उत्पादन हुने तथ्यांक छ। यसैगरी डोटीमा १० हजार ७ सय हेक्टर र बझाङमा १० हजार ३ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। डोटीमा २९ हजार एक सय मेट्रिक टन र

बझाङमा २७ हजार ६०९ मेट्रिक टन धान उत्पादन हुन्छ। छैटौँ बढी धान खेती हुने जिल्ला बैतडीमा ९ हजार हेक्टरमा धानखेती गरिँदा १६ हजार २० मेट्रिक टन उत्पादन हुने मन्त्रालयको तथ्यांक छ। बाजुरामा ६ हजार ९१५ हेक्टरमा धानखेती हुन्छ भने १३ हजार १४० मेट्रिक टन धान उत्पादन हुन्छ। डडेल्धुरा र दार्चुलामा क्रमशः ६ हजार १२० हेक्टर र ४ हजार ४८० हेक्टरमा धानखेती गरिन्छ। डडेल्धुरामा १९ हजार ५ सय मेट्रिक टन र दार्चुलामा १२ हजार ९६ मेट्रिक टन धान उत्पादन हुने सरकारी तथ्यांक छ।

धानमा जोडिएको आर्थिक विकास

प्रकाशित: १७ असार २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast