सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

हिमाल प्रेस २७ असार २०८० १५:४१ | Wednesday, July 12, 2023
सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

काठमाडौँ– पत्नी सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले दागबत्ती दिएका छन्।  पशुपति आर्यघाटमा बुधबार आयोजित सीता दाहालको अन्त्येष्टि समारोहमा प्रधानमन्त्री प्रचण्डले दागबत्ती दिएका हुन्।

प्रचण्डलाई छोरीहरू रेणु दाहाल र गंगा दाहालले पनि सघाएका थिए। ६९ वर्षीया दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको थियो।

दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ (पीएसपी) बाट पीडित थिइन्। उनलाई रक्तचाप र मधुमेहको पनि समस्या थियो। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। बुधबारै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो।

अन्त्येष्टिअघि सीता दाहालको पार्थिव शरीरमा रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। त्यसपछि नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।

अन्तिम श्रद्धाञ्जलीका लागि पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सरकारका मन्त्रीहरू, सरकारका उच्च अधिकारीहरू, विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका थिए।

त्यसअघि सीता दाहालको शव श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो।

प्रकाशित: २७ असार २०८० १५:४१ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast