काठमाडौँ- लामो समययता सामाजिक सञ्जालबाट टाढिएकी हलिउड अभिनेत्री अम्बर हर्डले एउटा पोस्ट गरेकी छन्। उनी इन्स्टाग्राममा सक्रिय भएकी छन्। त्यसमा उनले आफ्नो तस्बिर सेयर गरेकी छन्।
पूर्वश्रीमान् जोनी डेपसँग मानहानिको मुद्दा हारेयता उनी सामाजिक सञ्जालबाट टाढिएकी थिइन्। अम्बर र जोनीले सन् २०१५ मा बिहे गरेका थिए। बिहेको एक वर्ष पछि उनीहरूले सम्बन्ध विच्छेद गरे। यी दुई हलिउड कलाकारको सम्बन्ध विच्छेदका समाचार सञ्चारमाध्यममा छाइरहे।
सन् २०१८ मा अम्बरले अमेरिकी पत्रिकार ‘वासिङपोस्ट’मा लेख लेख्दै जोनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्। उनीविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेकी थिइन्। अम्बरले आफूमाथि झुटो आरोप लगाएको भन्दै जोनीले उल्टै उनीविरुद्ध मानहानिको मुद्दा हाले। जोनीले मुद्दा जिते अम्बर हारिन्।
जुन २३ मा इटलीमा भएको ६९ औँ ताओरमिना फिल्म फेस्टिबलमा अम्बर देखिइन्। मुद्दा हारे पछि पहिलोपटक उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएकी हुन्। महोत्सवका तस्बिर नै उनले इन्स्टाग्राममा सेयर गरेकी हुन्। त्यहाँ उनी आफ्नो फिल्म ‘इन द फायर’को प्रचारप्रसार गर्न पुगेकी हुन्।
त्यहाँ आफ्ना प्रशंसकबाट भव्य स्वागत पाएको र त्यसका लागि उनले धन्यवाद दिएकी छन्। ‘न्यानो स्वागतका लागि धन्यवाद, यो एक अविस्मरणीय सप्ताहन्त थियो,’ उनले क्याप्सनमा लेखेकी छन्।

                                             

