‘सक्ने भए संसदीय दलको नेतामात्रै होइन, सभापति नै फेरिहालौँ नत्र कुरामात्रै नगरौँ’

हिमाल प्रेस ४ साउन २०८० १३:१४ | Thursday, July 20, 2023
‘सक्ने भए संसदीय दलको नेतामात्रै होइन, सभापति नै फेरिहालौँ नत्र कुरामात्रै नगरौँ’ कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगनकुमार थापाले नेतृत्व परिवर्तनको कुरा उठाइरहेकोप्रति टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको तेस्रो दिन बोल्दै पाण्डेले महामन्त्रीको अभिव्यक्तिले नकारात्मक भ्रम फैलिएको भन्दै सचेत गराएका हुन्।

पाण्डेले महामन्त्री थापाले संसदीय दलको नेता फेर्न प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बोल्नेभन्दा व्यवहारमा गरेर देखाउन चुनौती दिए।

‘पार्टीको विधानमा सभापति चुन्ने व्यवस्था छ, र हटाउने व्यवस्था पनि छ । त्यस्तै, संसदीय दलको नेता चुनिने र हटाउने व्यवस्था पनि छ । यो सबै कुरा विधानमा छ । तर त्यो कुन बेला कसरी गर्ने भन्ने पनि व्यवस्था छ । त्यसैले गर्ने कुरालाई सकिन्छ भने गरिहालौँ, नभए भनेरमात्रै अतिरञ्जित नगरौँ,’ उनले भने, ‘नभए पार्टीको बारेमा नै नकरात्मक भ्रम फैलाउने काम पार्टीका नेताहरूबाट नहोस्। जे–जे भएपनि हामी सबै एकै डुंगामा छौँ, डुब्दा सबै एकैपटक डुब्छौँ । शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु।’

मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा भइरहेका गतिविधिबारे पनि केन्द्रीय कार्यसमितिले जानकारी राख्ने र निर्देशन गर्ने गर्नुपर्ने बताए ।

‘प्रदेशमा पनि कांग्रेस छ । प्रदेशसभामा के भइरहेको छ ? प्रदेश सरकारले के गरिरहेका छन् ? त्यसको जानकारीसमेत केन्द्रीय कार्यसमितिले जानकारी राख्ने व्यवस्था गरौं,’ उनले भने, ‘त्यसले पार्टीलाई नै थप मजबुत बनाउँछ भन्ने लागेको छ ।’

पाण्डेले बैठकमा प्रस्तावित विभागमाथि पनि प्रश्न उठाए। महामन्त्री थापाले मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीमा थप २२ वटा विभाग थप गर्ने प्रस्ताव गरेका थिए। अहिले कांग्रेसमा ४८ वटा विभाग छन्। पाण्डेले भने, ‘तरुण विभाग पहिले नै छ। युवा तथा किशोरीकिशोरी विभाग बनाउने प्रस्ताव गरिएको छ। यी दुईबीच भिन्नता प्रस्ट पारिदिनुपरो।’

यस्तै उनले प्रस्तावित उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकासको औचत्यिमाथि पनि प्रश्न उठाए। केन्द्रीय सदस्य पाण्डेले भने, ‘उद्योग विभाग पहिल्यै रहेको अवस्थामा अर्को विभाग किन आवश्यक पर्‍यो? मलाई नमिलेको जस्तो लागेको छ।’

महामन्त्री थापाले सामाजिक सांस्कृतिक अभियान विभाग र धर्म संस्कृति समन्वय विभाग पनि प्रस्ताव गरेका छन्। यसअघि नेपाली कांग्रेसमा साहित्य कला तथा संस्कृति विभाग सक्रिय छ।

प्रकाशित: ४ साउन २०८० १३:१४ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast