महोत्तरीमा रोपिएको धान पानी नपरेपछि सुके

हिमाल प्रेस १५ साउन २०८० १२:०४ | Monday, July 31, 2023
महोत्तरीमा रोपिएको धान पानी नपरेपछि सुके फाइल तस्बिर।

महोत्तरी– महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो।

साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन। यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन्।

महोत्तरीमा कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र ९ हजार ९ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको उनले जानकारी दिए।

पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका -८ का किसान विपेन्द्र पाण्डले गुनासो गरे।

आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजोसमेत फाटेको उनको भनाइ छ। धानका बिरुवा ब्याडमै सुकिरहेको अर्का किसान रामु मण्डलले बताए।

आफ्नो गाउँभरि नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि अहिले सुकिरहेको जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा-४ का किसान उपेन्द्र यादवले सुनाए।

पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको रामगोपालपुर नगरपालिका-५ का किसान प्रमोद मण्डलले गुनासो गरे।

जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकासे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ।

प्रकाशित: १५ साउन २०८० १२:०४ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast