भेडापालक किसानलाई ‘हेरालो भत्ता’

हिमाल प्रेस ११ साउन २०८० २०:५२ | Thursday, July 27, 2023
भेडापालक किसानलाई ‘हेरालो भत्ता’

कर्णाली- कर्णाली प्रदेश सरकारले यहाँका पशुपालक चार सय ४० जना किसानलाई ६८ लाख ७३ हजार रुपैयाँ ‘हेरालो भत्ता’ दिएको छ। प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका ४ हिमाली जिल्लाका भेडा च्याङ्ग्रापालक किसानलाई ‘हेरालो भत्ता’ दिएकाे हाे।

मन्त्रालयअन्तर्गत पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो। ‘प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानलाई प्रतिमहिना १ हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रकम उपलब्ध गराएको छ,’ उनले भने, ‘पचासभन्दा माथि भेडाच्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरूप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो।’

कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तर रहेको बताउँदै निर्देशक पंगेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका सामान पनि उलब्ध गराउने सुविधा थपिएको जानकारी दिए।

निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई ३३ लाख रुपैयाँ वितरण गरेको छ। त्यस्तै हुम्लाका एक सय ९ कृषकलाई १५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई १० लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई ९ लाख ५४ हजार रुपैयाँ प्रदान गरेको छ। प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको निर्देशनालयकाे भनाइ छ। रासस

प्रकाशित: ११ साउन २०८० २०:५२ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast