काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन गरेका छन्।
गोरखाको गण्डकी गाउँपालिका-८, सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।
आयोजनाको क्षमता १२०० मेगावाट हो। सरकारले आन्तरिक स्रोतको परिचालन गरेर आयोजनाको निर्माण गर्ने बताएको छ। सरकारले असार २८ गते कम्पनीको कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।
सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको कार्यालयले जानकारी दिएको छ।
आयोजनाबाट धादिङ र गोरखाका करिब ५० हजार स्थानीयवासी प्रभावित हुनेछन्। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारिसकेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

