पोखरा थिएटरमा ‘करेसा कन्सर्ट’ तयार

हिमाल प्रेस ४ साउन २०८० ७:४० | Thursday, July 20, 2023
पोखरा थिएटरमा ‘करेसा कन्सर्ट’ तयार

पोखरा– पोखरा थिएटरमा करेसाबारीबारे जानकारी दिन करेसा कन्सर्ट नाटक तयार पारिएको छ।

करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ।

नाटकमा फर्सीबहादुरको रूपमा रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अञ्जु दाहाल, गोलभेँडाको भूमिका रोशनी रामदामले, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार र करेली बनेर रञ्जु दाहालले अभिनय गरेका छन्।

यस्तै अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले अभिनय गरेका छन्।

गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ।

केदार श्रेष्ठद्वारा लिखित उक्त नाटक अञ्जु दाहालको निर्देशनमा तयार पारिएको हो। लेखक श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार गरेको बताए। निर्देशक दाहालले विद्यार्थीलाई करेसाबारीबारे जान्न बुझ्न नाटक महत्त्वपूर्ण हुने बताए।

पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको उक्त नाटक आमदर्शकलाई लक्षित गरेर पब्लिक सोमार्फत पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन गरिने भएको छ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरीदेखि ५ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेकाले पब्लिक सोको रूपमा मञ्चन गर्न लागिएको जानकारी दिए।

करिब १ घण्टा १० मिनेट अवधिको उक्त नाटकमा संगीत संयोजक कमल केसी, मञ्च सजावटको काम अमृत परियार र प्रकाश परिचालनको काम मिलन श्रेष्ठले गरेका छन्।

प्रकाशित: ४ साउन २०८० ७:४० | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast