भजनी- कैलालीको टीकापुरमा केरा खेती फस्टाउन थालेको छ। यहाँका किसानले केरा खेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन्। बजारीकरणको समस्या नहुँदा किसानको आकर्षण केरा खेतीतर्फ बढ्दै गएको छ।
टीकापुरमा केरा खेतीमा लागेका कालु हमाल सुरुवातमा १० बोटबाट व्यवसाय सुरु गरेका उनले अहिले केरा बारी नै बनाएका छन्। केराका लागि सुहाउँदो माटो भएकाले हमालसँगै अन्य किसान पनि व्यावसायिक केरा खेतीमा लागेका छन्। ‘त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए,’ हमालले भने, ‘अहिले धेरै किसान लागेका छन्।’
हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडिरहेका छन्। केराको मात्रै परिकार पाइने यहाँको ‘बनानाज रिसोर्ट’ निकै चर्चित छ। यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ।
टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको छ। प्रत्येक वर्ष यहाँको केरा खेती बढ्दै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन्। ‘किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन्। बजारीकरणको समस्या छैन,’ उनले भने, ‘एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ।’
पछिल्लो समय टीकापुरमै केराको बेर्ना पनि उपलब्ध हुन थालेको छ। धामी स्वयंमले पनि केराको बेर्ना बेच्छन्। उनले सात वर्षयता टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका छन्।
टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँसहित बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ। व्यवसायी राजकुमार चौधरीका अनुसार पछिल्लो समय व्यापारीले बारीमै पुगेर केरा खरिद गर्छन्।
केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई सहयोग गर्दै आएको छ। इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरू ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ।
कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजंग रानाले चालु आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले ६० लाख रुपैयाँ विनियोजन गरेको बताए। इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ। च्याम्बर पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। रासस

                                             
                                             

