निर्वाहमूखी कृषिलाई व्यावसायिक बनाउँदै बागलुङका किसान

हिमाल प्रेस ७ साउन २०८० १३:१८ | Sunday, July 23, 2023
निर्वाहमूखी कृषिलाई व्यावसायिक बनाउँदै बागलुङका किसान

बागलुङ– व्यावसायिक पशुपक्षी पाल्ने किसानको संख्या वृद्धि भएको छ। आर्थिक वर्ष ०७८/७९ को तुलनामा आव ०७९/८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको संख्या वृद्धि भएको हो।

गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन्।

वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन्।

जिल्लाभर ७ सय ४७ फार्मले व्यावसायिक रूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन्। आव ०७८/७९ मा यो संख्या ७ सय १० मात्रै थियो।

‘किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ,’ भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘फार्मको संख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौं।’

उनका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ब्रोइलर कुखरा फार्म थप भएका छन्।

एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको संख्या १ सय १९ पुगेको उनको भनाइ छ।

व्यावसायिक रूपमा बाख्रा पाल्ने किसानको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन्।

बागलुङमा बाख्रा फार्मको संख्या १ सय ९७ पुगेको छ। गाई फार्म ७२, भैंसी फार्म ८५, भेडा फार्म २९ र बंगुर फार्म १ सय २बाट वृद्धि भएर १ सय ७ पुगेका छन्।

यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन्। पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको संख्या ५ रहेको छ भने मिश्रित फार्म ७ र अन्य पशुपक्षीजन्य फार्म ३ छन्।

जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्यांक केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाको भनाइ छ।

‘जिल्लाभर बाख्रा पाल्ने किसानको संख्या सबैभन्दा धेरै छ, गाईभैंसी, कुखुरा र बंगुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ,’ उनले भने, ‘विविध कारणले फार्मकत्रो संख्या बढेको भए पनि पशुको संख्या भने घट्दो छ।’ उनले भने।

पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ।

२ लाख ४९ हजार २ सय ११ जनासंख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव ५ लिटर दूध उपलब्ध हुन्छ।

प्रकाशित: ७ साउन २०८० १३:१८ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast