देउवालाई ‘महाराज’ भन्दै गुरुराजको आरोप : केन्द्रीय समिति बैठक भारदारीसभा जस्तै भयो

हिमाल प्रेस ९ साउन २०८० १६:२२ | Tuesday, July 25, 2023
देउवालाई ‘महाराज’ भन्दै गुरुराजको आरोप : केन्द्रीय समिति बैठक भारदारीसभा जस्तै भयो

काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन्।

उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए। उनले पार्टी केन्द्रीय कार्य समिति भारदारी सभा हुन नहुने पनि बताए।

‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति गम्भीरता मैले देखिनँ। केन्द्रीय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला भारदारी सभाजस्तो लाग्यो। महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरू आउँछन्। त्यतैतिर अभिव्यक्ति आउँछन्,’ उनले भने, ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति भारदारी सभा होइन। पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ। दुःख र कर्म फरक हो। दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ।’

उनले पार्टी बैठकमा कर्मका कारण राज्यको जिम्मेबारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्दा दुख मान्न नहुने बताए। ‘केन्द्रीय समितिका साथीहरूले दुःख र कर्मको भेद नै छुट्याउनु भएन। दुःख पर्‍यो भनिदिनु भयो। कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन,’ बालकृष्ण खाणतर्फ संकेत गर्दै घिमिरेले भने, ‘त्यो कर्म हो। उहाँकै कर्मले हो। जति पनि व्यक्तिहरू आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस्।’

उनले कांग्रेस केन्द्रीय सदस्य खाण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए। आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाणलाई दुःख नपरेको उल्लेख गरे।

प्रकाशित: ९ साउन २०८० १६:२२ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast