असार १५

पोखराको रोपाइँ महोत्सवमा रमाए विदेशी पर्यटक [फोटो फिचर]

विजय नेपाल १५ असार २०८० १७:१८
32
SHARES
पोखराको रोपाइँ महोत्सवमा रमाए विदेशी पर्यटक [फोटो फिचर]

पोखरा- ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ पर्यटन व्यवसायीहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार रोपाइँ महोत्सव भएको छ। पोखरा १३, कसेरी, डुुम्रिबोटमा आयोजित १८ औं संस्करणको उक्त महोत्सवमा विदेशी पर्यटक नौलो अनुभूति गर्दै हिलोमा खुबै रमाए। परिषद्ले खेतीयोग्य जमिन संरक्षण गर्दै लैजाने तथा कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘हिलोमा एक पटक त टेक्नु पर्छ है’ भनाइ आत्मसात गर्दै महोत्सवलाई निरन्तरता दिएको हो।

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले कृषिप्रधान देश नेपालमा सरकारले समेत उक्त दिनलाई धान दिवसको रुपमा मनाउने गरेकोमा आफूहरूले झण्डै २ दशकअघि सुरु गरेको महोत्सवको औचित्य सावित हुँदै गएको बताए। उनले महोत्सवले कृषिपर्यटनमा प्रवद्र्धन गर्नुका साथै धानखेतीमा कृषकलाई आकर्षित गर्न सहयोग पुगेको बताए। अफसिजनमा पनि पर्यटक आकर्षित गर्न महोत्सव सफल हुँदै गएको महोत्सव संयोजक कृष्ण भण्डारीले बताए। महोत्सवमा विभिन्न खालका प्रतियोगितासमेत भए।

जसमा खुला साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समाप्ने प्रतियोगिता, हिलो दौड प्रतियोगिता भयो। यस्तै, महिला र खुला इभेन्टमा रस्साकस्सी एवं हिलोमा घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक कृष्णप्रसाद भण्डारीले बताए।

विजयीलाई नगद र प्रमाणसहित पुरस्कृत गरिएको छ। महोत्सवमा पोखरा महानगरपालिका वडा कार्यालय १३, कृषि सञ्जाल वडा नम्बर १३ तथा वडा २८ स्थानीय आयोजक थिए। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका हुन्। महोत्सव सफल पार्न पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको १४ उपसमिति गठन गरिएको थियो भने ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए।

आयोजकले हरेक वर्ष रोपाइँ महोत्सवलाई फरक फरक स्थानमा आयोजना गर्दै आएको छ। पोखरामा खेतीयोग्य ठूला फाँटहरुमा यतिखेर घर तथा विभिन्न भौतिक संचरना निर्माणले खेतीयोग्य भूमि नासिँदै गएको छ। पोखरामा बिरौटा फाँट, बिरुवा फाँट, कुँडहर फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहूँखोला, पामेफाँट ठूला फाँट हुन्।

सबै तस्बिर : विजय नेपाल/हिमालप्रेस

प्रकाशित: १५ असार २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =