बागमतीमा सत्तापक्ष-प्रतिपक्ष टकरावले बजेटमाथिको छलफल अड्कियो

हिमाल प्रेस १५ असार २०८० १३:३४
4
SHARES
बागमतीमा सत्तापक्ष-प्रतिपक्ष टकरावले बजेटमाथिको छलफल अड्कियो मुख्यमन्त्री

काठमाडौँ– बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे।

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ।

मंगलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो। दलहरूबीच सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १:३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन।

दिउँसो ३:३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ बजे बैठक बोलाइएकामा करिब आधा घण्टा ढिला गरी बैठक सुरु भएको थियो।

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन।

एमाले र राप्रपाले प्रदेशसभाको बैठकमा आफ्ना माग सत्तापक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगन गरिएको जानकारी दिए।

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ। आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षि दलका बीचमा टकराब बढ्दै गएको हो। बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तर रूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन। बागमती प्रदेशसभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुनः स्थगन गरिएको हो।

सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको भनाइ छ।

प्रकाशित: १५ असार २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =