बैतडीका स्थानीय तहको बजेटमा सडक र शिक्षालाई प्राथमिकता

हिमाल प्रेस १४ असार २०८० १३:०६
4
SHARES
बैतडीका स्थानीय तहको बजेटमा सडक र शिक्षालाई प्राथमिकता

बैतडी– कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

नगरसभा तथा गाउँसभाबाट यहाँका नौ स्थानीय तहहरूको ४ अर्ब ७३ करोड १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।

स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन्।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख बराबरको बजेट ल्याएको छ। शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बताए। नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई बजेटमा समेटिएको उपमेयर कौशिला चन्दले जानकारी दिइन्।

नगरपालिकाले पुँजीगततर्फ ११ करोड रुपैयाँ विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख विनियोजन गरेको छ।

यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको बजेटमा नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख र पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको छ।

पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाखको बजेट ल्याएको छ। पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ। सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको उपमेयर मीना धानुकले बताइन्।

पुर्चौडीमा सामाजिक विकासतर्फ ८ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ नौ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकासतर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै पाटन नगरपालिकाले ६३ करोड ५३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको मेयर गौरिसिंह रावलले जानकारी दिए।

दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गरेको ५१ करोड ४४ लाखको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

‘कृषि क्षेत्रलाई उत्पादनको प्रमुख क्षेत्रको रूपमा विकास गर्दै अध्यक्ष नमुना कृषि गाउँ कार्यक्रम, १ टोल १ उत्पादनमा जोड दिएर उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई पुरुस्कार दिने, शीतभण्डार निर्माण, कृषि बिउबिजन तथा मल केन्द्र स्थापना गरिनेछ,’ उनले भनिन्।

यसैगरी मेलौली नगरपालिकाले ४९ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ। सुर्नया गाउँपालिकाले ४२ करोड ८ लाखको बजेट ल्याएको छ। सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर ४३ करोड ८२ लाखको बजेट सार्वजनिक गरेको छ।

चालुतर्फ ३३ करोड ८९ लाख र पुँजीगततर्फ नौ करोड ९३ लाख बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीको भनाइ छ। ‘कृषि र सडकलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएका छौं,’ उनले भने।

पञ्चेश्वर गाउँपालिकाले ३८ करोड ७४ लाखको बजेट ल्याएको छ। कृषि, स्वास्थ्य र बिजुलीलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन्।

शिवनाथ गाउँपालिकाले ३६ करोड ३४ लाखको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदको भनाइ छ।

बैतडीमा ४ नगरपालिका र छ गाउँपालिका छन्। डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरेको छ भने बजेट ल्याउन बाँकी छ। यही असार १५ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

प्रकाशित: १४ असार २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =