प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने गगनको प्रस्ताव

हिमाल प्रेस १३ असार २०८० १३:३६
76
SHARES
प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने गगनको प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्र राजनीति प्रवेश गरेकोले तहसनहस भएकोले प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेसको सदस्य हुन नपाउने व्यवस्था गर्न प्रस्ताव पेस गरेका छन्।

कांग्रेस क्षेत्र नम्बर ४ को पहिलो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले राजनीतिक दलको होडबाजीले शिक्षा क्षेत्र तहसनहस भएको बताएका हुन्।

उनले भने, ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने? एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्’

उनले नेविसंघले प्राध्यापकलाई कुट्यो, कालोमोसो दल्यो भन्ने सुन्दा आफूलाई निकै चिन्तित बनाएको पनि बताए। उनले शिक्षक, प्राध्यापक तथा विषय विज्ञ राजनीतिमा आउँदा राजीनामा दिएर आउन सक्ने पनि बताए।

‘पार्टीभित्र यो बहस किन नगर्ने? राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्,’ उनले भने, ‘योपटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौँला।’

उनले आफू बाल कांग्रेस भएको समय र अहिलेको समय फरक रहेको भन्दै विगतमा आफूले बोलेको कुराहरूलाई लिएर अनावश्यक हल्ला नगर्न पनि आग्रह गरेका छन्।

‘म पनि कुनै बेला विद्यार्थी राजनीतिमा थिए। मैले विद्यार्थी राजनीतिमा क्रियाशील भएको समय फरक थियो, राजाको शासन थियो, माओवादीको शासन थियो। बोल्न, हिँड्न्, लेख्न पाउने कुरा प्रतिबन्धित थियो। केही बोल्यो, लेख्यो भने प्रहरीले लगेर थुन्थ्यो,’ उनले भने,’दुई-दुई पटक राज्य द्रोहको मुद्दा खेपे, पचासौँ पटक हिरासत जाने-आउने त स्वाभाविक कुरा भयो। पिटाइ खाने, लड्ने, भिड्ने कुरा सामान्य कुराहरू भए। प्रतिरोधको राजनीतिको बेला थियो। त्यो प्रतिरोधको राजनीतिको बेला राजनीतिक माहोल मिलाउनु पर्ने थियो। त्यो राजनीतिको माहोल बनाउने बेलामा कतिपय हामीले केही अभ्यासहरू गर्‍यौँ।’

थापाले राखेको प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने प्रस्तावबारे कांग्रेसभित्र भने छलफल भएको छैन। ११ महिनायता कांग्रेसको केन्द्रीय समिति बैठक नै बसेको छैन।

प्रकाशित: १३ असार २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =