चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको यस्तो छ पाँचदिने कार्यसूची

हिमाल प्रेस १३ असार २०८० ८:२१
6
SHARES
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको यस्तो छ पाँचदिने कार्यसूची

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन्। सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ५ दिनका लागि चीनको सिचुवान प्रान्त भ्रमणमा निस्किएका हु्न।

मंगलबार राति ११:२० बजेको उडानमार्फत उनी त्यसतर्फ गएका हुन्।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायतको सहभागिता छ।

उनी बुधवार पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सरिक हुने उनको सचिवालयले जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नेछन् भने दिउँसो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नेछन्।

सोही दिन साँझ उनी चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनेछन्।

श्रेष्ठले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग छलफल गर्नेछन्। त्यहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यसूची रहेको उनको सचिवालयले जानकारी दिएको छ।

यसपछि उनले विश्वविद्यालयको हाइड्रोलिक्स र माउन्ट रिभर इन्जिनियरिङ प्रयोगशालाको अवलोकन गर्नेछन् भने दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समूहका अधिकारीहरूलाई भेट्ने कार्यसूची छ।

शनिबार बिहान उनले भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिंपुस्थित हाइड्रो जक्सनको अवलोकन भ्रमण गर्नेछन्। त्यसदिन दिउँसो दुजियांगानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत उनी स्वदेश फर्किने कार्यसूची रहेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =