पोखरा महानगरको ७ अर्ब १५ करोडकाे बजेट पारित

हिमाल प्रेस १२ असार २०८० २०:०८
2
SHARE
पोखरा महानगरको ७ अर्ब १५ करोडकाे बजेट पारित

पाेखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट मंगलबार पारित गरिएको छ। महानगरको १३औँ नगरसभामा गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका लागि प्रस्तुत गरेकाे ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट पारित गरिएकाे  हाे।

पोखराले चालु आवकोभन्दा कम बजेट आगामी आवका लागि ल्याएको छ। चालु आवको बजेट ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँकाे रहेकाे छ।असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ।

उपप्रमुख गुरुङले नगरसभामा प्रस्तुत गरेकाे आगामी वर्षका आयव्यय विवरण तथा कार्यक्रम छलफलसहित पारित गरिएको जानकारी दिइन्। ‘नगरसभा सदस्यबीच  आवश्यक छलफल गरी आज बजेट पारित गरेका छौँ,’ उनले भनिन्, ‘आगामी वर्षको बजेटले समुन्नत पोखरा निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ।’

महानगरले निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोचलाई प्राप्त गर्ने गरी आगामी आवको बजेट ल्याइएको उनले बताइन्।

बजेटमा पर्यटन प्रवर्द्धन, दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।

महानगरले आगामी आवको कुल बजेटमध्ये पूर्वाधार विकासतर्फ २ अर्ब ७० करोड रुपैयाँ, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड रुपैयाँ, वडाका लागि ७२ करोड ६० लाख रुपैयाँ, नगरपालिका खर्च ८१ करोड २२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगरको बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट अनुदान २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारबाट अनुदान १० करोड २३ लाख ६२ हजार रुपैयाँ, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ स्राेतकाे रूपमा अनुमान गरिएको छ।

यसैगरी स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार रुपैयाँ र न्यून हुने ४५ करोड ६८ लाख ६५ हजार रुपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहाेरिने उपप्रमुख गुरुङले जानकारी दिइन्। रासस

प्रकाशित: १२ असार २०८० २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =