भरतपुरमा ‘एक घर एक रुख’ नीति, सडक छेउछाउ पनि हरियाली बनाइने

हिमाल प्रेस १० असार २०८० १७:१८
274
SHARES
भरतपुरमा ‘एक घर एक रुख’ नीति, सडक छेउछाउ पनि हरियाली बनाइने

चितवन- भरतपुर महानगरपालिकाले हरियाली र स्वच्छ सहरको नीति प्रस्तुत गरेको छ। महानगरपालिकाको आज (आइतबार) भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाएकी हुन्।

नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरिने उल्लेख गरिएको छ।
केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रुपमा विकास गरिने कार्यक्रममा उल्लेख छ।

गोन्द्राङ-पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोप्ने र संरक्षण गरिने जनाइएको छ। ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ।

घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ। ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्द्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघसंस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ।

वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्‍याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्करूपमा बिरुवा वितरण गरी वृक्षरोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ।

विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउने महानगरले जनाएको छ। महानगरलाई सुन्दर र व्यवस्थित बसोबासयुक्त बनाउन मापदण्डविपरीत निर्मित संरचना हटाउने कार्य अगाडि बढाइएको महानगर प्रमुख दाहालले बताइन्।

कृषिमा यान्त्रीकीकरण, दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान र छात्रासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ। महानगरले सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष मनाउने भएको छ। अब महानगरपालिकाभित्रका पर्यटकीय गन्तव्यको जानकारी अंग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ। ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ।

केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने भएको छ। शिक्षालाई व्यावहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यावहारिक शुक्रबार’ अभियान कार्यान्वयनमा ल्याइने भएको छ। उक्त दिन पाठ्यपुस्तकरहित सिकाइका क्रियाकलाप गरिने महानगरले जनाएको छ।

प्रकाशित: १० असार २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =